जापान छाडेरे नेपालमै रेष्टुरेष्ट व्यवसाय गर्ने सोचका साथ ६ वर्ष अघि मोहन भण्डारीले अनामनगरमा सिलौटो कटेज स्थापना गरे । डेढ रोपनी क्षेत्रमा रहेको सिलौटो कटेज अनामनगर क्षेत्रकै पारिवारिक रेष्टुरेन्ट बनेको छ । कटेजमा छिर्ने बित्तिकै परम्परागत बाँसले बनेका स–साना कटेज, हरियाली, आतित्थ्य सत्कारले मोहित नहुने कोही हुँदैनन् ।
त्यस्तै रेष्टुरेन्टमा बन्ने हरेक परिकारको लागि आवश्यक पर्ने खानाको परिकारमा प्रयोग हुने मरमसला र सिलौटो नै पिसेको अचारले फरक स्वाद सिलौटो कटेजले दिइरहेको छ । नेपालमा रेष्टुरेन्ट व्यवसायको अवस्था तथा लगानीको वातावरण लगायतको विषयमा मध्यान्हका छबि सापकोटाले सिलौटो कटेजका सञ्चालक मोहन भण्डारीसँग गरेको कुराकानी–
नेपालमा रेष्टुरेन्ट व्यवसायको अवस्था कस्तो छ ?
पछिल्लो समयमा नेपालमा केही हुँदैन भन्ने सोचकै कारण युवा पुस्ताले देश छोडिरहेको अवस्था छ । तर त्यस्तो होइन, नेपालमा व्यवसाय गर्ने सक्ने हो भने विदेश जानु नै पर्दैन । नेपालमा साना तथा मझौला व्यवसाय गर्ने हो भने जापान, युरोप, अमेरिका जानु नै पर्दैन । म पनि जापान छोडेर नेपाल आएको हुँ । विदेशमा काम नगरी पैसा आउँदैन । विदेश जान गर्ने लगानी र विदेश गएर गर्ने मेहनत नेपालमै गर्ने हो भने नेपाल लगानी गरेर राम्रो आम्दानी गर्न सकिन्छ ।
कोरोनापछि मन्दीको अवस्थामा रेष्टुरेष्ट व्यवसायले भोग्नु परेको समस्या अहिले छैन । अहिले यो व्यवसाय बिस्तारै पुरानौ लयमा फर्किन लागेको छ । पछिल्लो समय सम्भावना देखेर धेरै स्थानमा रेष्टुरेष्टमा लगनी गर्नेको संख्या समेत बढ्दो छ ।
लगानी बढ्दै जाँदा अब सरकारको भूमिका कस्तो हुनुपर्छ ?
नेपालमै केही गरांै भन्ने सोच भएका व्यक्ति विदेशबाट फर्किएर विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन् । यो लगानीका लागि उपयुुक्त समय समेत हो । तर सरकारले लगानीलाई सुरक्षित गर्ने वातावरण र नीति बनाउन आवश्यक छ ।
स्वदेशमै केही गरौं भनेर काम गर्न खोजिरहेका व्यक्तिलाई नियमक निकायले दुःख दिने होइन, सहयोग गर्नुपर्छ । तर यहाँ लगानीकर्तालाई प्रोत्साहन गर्ने परम्परा नै छैन । कसैले प्रगति गर्न खोज्यो भन्ने खुट्टा तान्ने प्रवृति छ ।
त्यसैले लगानीकर्ताले चाहेर मात्र लगानीको वातावरण बन्दैन । त्यसमा निजी क्षेत्र र सरकारबीच हातोमालोको आवश्यक्ता छ । विदेश जानु भन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना जगाउने काम सबैले गर्न आवश्यक छ । स्वदेशमै बस भनेर मात्र हुदैन,
सरकार अभिभावक भएकाले बाटोसमेत देखाइदिनु पर्छ । अहिले विदेश जाने जमात बढ्दै गर्दा आन्तरिक अर्थतन्त्र समेत सुस्ताएको छ । तर सबै जना यहीँ बस्ने हो भने एउटा व्यवसायले अर्काे व्यवसायलाई टिकाउन सक्छ ।
सरकारले कस्तो नीति बनाउँदा व्यवसाय फस्टाउन सक्छ ?
नेपालमा अवसर धेरै छ । नेपालको जुन सुुकै स्थानमा व्यवसाय गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ । हाम्रो व्यवसायिक मैत्री नीति त छन् तर कार्यान्यवन छैन । नीति व्यवसाय फस्टाउने हुनुपर्छ न की हतोत्साहित गर्ने ? विदेश बसेर आएकाहरू नेपालमा लगानी गर्न इच्छुक छन् । यस्तै लगानी गरेर मात्र हुँदैन व्यवसायमा लगाव पनि चाहिन्छ । लगानी गर्ने तर मेहनत र नयाँपन दिन नसक्दा व्यवसाय फस्टाउन सकिरहेका छैन । अरुको भन्दा फरक सोचले व्यवसायमा लगानी गर्ने हो भने थोरैै लगानीमासमेत धेरै लाभ लिन सकिन्छ ।
सिलौटो कटेज ग्राहकको रोजाइ पर्नुको कारण के छ ?
नेपालमा पछिल्लो समय रेष्टुरेन्ट व्यवसाय खुल्ने क्रम बढ्दो छ । नेपाली समाजमासमेत सातामा एक दिन भएपनि बाहिर रेष्टुरेन्टमा गएर खाने संस्कृति बढ्दो छ । शहरमा बजारमा बस्ने अधिकांश व्यक्ति विभिन्न कामको शिलशिलामा गाउँबाट काठमाडौमा आउँछन् । शहरमा खुलेका रेष्टुरेष्टमा विदेशीपन बढ्दै जाँदा स्वदेशीको स्वाद सिलौटाले दिइरहेको छ । पछिल्लो समय नेपाली रैथाने स्वादको लागि सिलौटो नै खोज्ने ग्राहकको संख्या बढ्दै गएको छ ।
हामी विदेश वा शहर जहाँ भएपनि गाउँको स्वादलाई सम्झिरहेको हुन्छौं । गाउँको स्वाद शहरमा दिने उद्देश्यले शहरमा बस्नेका लागि हामीले सिलौटोमा पिसेर बनाएको मसलाबाट सबै परिकार बनाउने गरेका छांै । घरेलु स्वादका रैथाने परिकारको स्वाद नै सिटौलो कटेज ग्राहकको रोजाइमा पर्ने गरेको छ ।
सिलौटोमा पाइने परिकारमा फरक स्वाद के पाइन्छ ?
सिलौटोमा पाइने परिकार बनाएर राखिएको हुँदैन । ग्राहकले अर्डर गरेपछि मात्र बन्छ । हामीले बजारबाट ल्याएको मासु प्रयोग गर्दैनौ । जिउँदो खसी, कुखुरा, माछा ल्याएर आफै बनाउँछौं । त्यसले हाम्रो खानामा हाइजेनिक छ । नेपाली आतिथ्यतासहित सेवा दिने र खानामा प्रयोग हुने हरेक मरमसलाहरू सिलौटौमा पिसेर प्रयोग गर्ने भएकोले ग्रामीण स्वाद सिलौटो कजेटमा पाइन्छ । हामीले पुरानो रैथाले परिकार र अर्गानिक वस्तुहरूको प्रयोगमा विशेष ध्यान दिएकै कारण अरु स्थानको भन्दा फरक स्वादले ग्राहकको रोजाइमा पर्ने गरेको छ । सिलौटामा मिसेको मसलाबाट बाहिरको भन्दा स्वास्थ्यकर र स्वादिलो परिकार बन्ने गरेको छ । काठमाडौको केन्द्र र रैथाले स्वादले प्रसिद्ध भएकोले पहिलो पटक आउने उपभोक्ता निरन्तर आइरेका छन् । अन्य स्थानमा भन्दा फरक स्वाद र मूल्यसमेत ‘रिजिनेवल’ भएका कारण स्थापनाकालदेखि नै व्यापार राम्रो छ । सिटौलो मै पिसेको मसला र अचार कै कारण खानामा नयाँ टेष्ट हाम्रोमा छ । अनामनगरमै भएपछि टाढाको रिर्साेटमा गएको जस्तो हरियाली वातावरण हाम्रो मुख्य विषेशता हो ।