२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

५० दिनपछि थुनामुक्त रवीन्द्र

जानकी पाठक
२०८२ जेठ ३ गते ०६:३५
५० दिनपछि थुनामुक्त रवीन्द्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै उनी हिरासतमुक्त भएका छन् । गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गर्दै सर्वोच्च अदालतले शुक्रबार दिएको आदेशसँगै उनी हाजिर जमानीमा हिरासतमुक्त भएका हुन् ।

हिरासतमुक्त भएपछि अदालतबाट बाहिरिँदै नेता मिश्रले राज्यले आरोप लगाएजस्तो आफूले संगठित र राज्यविरुद्धको अपराध नगरेको दाबी गरेका छन् । बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो ।

कुनै नागरिकलाई गैरकानुनी थुनामा राखेको देखिए थुनामुक्त गर्न अदालतले जारी गर्ने आदेश बन्दी प्रत्यक्षीकरणको आदेश हो । १० वैशाखमा नै काठमाडौं जिल्ला अदालतले उनीबाट संकलन गर्नुपर्ने प्रमाण जुटाइसकेको अवस्थामा हाजिरी जमानीमा छाड्न आदेश दिएको भन्दै सर्वोच्च अदालतले थुनाको औचित्यमाथि प्रश्न उठाएको थियो ।

प्रहरी नियन्त्रणबाट मुक्त भएपछि उनले भनेका छन्, ‘म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रूपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको हो तर राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन ।’ 

उनले ४७औं दिनसम्म पनि राज्यलाई अनुसन्धानमा सहयोग गर्छु भन्ने हिसाबले बन्दी प्रत्यक्षीकरणको निवेदन नदिएको समेत बताए । उनले १५ चैतमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गर्दै भने, ‘त्यो मैले सोचेको कुरा पनि होइन, म जस्तो मान्छेले योजना गरेको कुरा पनि होइन ।’

तत्काललाई आफू हाजिर जमानीमा मात्र छुटेकाले धेरै खुसी हुने पक्षमा नरहेको मिश्रले प्रतिक्रिया दिएका छन् । आफूले आन्दोलन ठूलो भएपछि कहिल्यै पनि आयोजकको, सरकारको नियन्त्रणमा हुँदैन भनेर सधैं भन्ने गरेको उनको भनाइ छ । 

प्रहरीले उनीविरुद्ध मुद्दा दायर गर्ने अवस्था भएमा झिकाएर मुद्दाको साथमा जिल्ला अदालतमा पेस गर्न सक्छ । तर, सर्वोच्च अदालतले नै थुनामुक्त गर्न आदेश दिएकाले जिल्ला अदालतले समेत थुनामा नराखी कानुन व्यवसायीको जिम्मा लगाएर थप प्रक्रिया अघि बढाउन सक्ने छ । 

१५ चैतमा राजधानीको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक दंगामा परिणत भएपछि प्रहरीले मिश्र, राप्रपा महामन्त्री धवलशम्शेर राणा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई पक्राउ गरेको थियो ।

तीमध्ये मिश्र र राणा बीएन्डबी अस्पतालमा घाइतेलाई भेट्ने क्रममा पक्राउ परेका थिए । राणा हाजिरी जमानीमा छुटिसकेका छन् । राजावादी प्रदर्शनका ‘जनकमान्डर’ भनिएका दुर्गा प्रसाईंसहितका व्यक्तिहरू भने अझै हिरासतमा छन् । प्रसाईंलाई प्रहरीले भारतको असमबाट पक्राउ गरेर ल्याएको थियो ।

ADV

सम्बन्धित खबर