काठमाडौं : नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी गराएका हुन् ।
उनले औषधि लिमिटेडले उत्पादन गरेका सिटामोल, जीवनजललगायतका औषधिहरु बिक्री नभएको गुनासो आएपछि नियमानुसार तीनै तहका स्वास्थ्य संस्थामा औषधि उपलब्ध गराउने विषयमा स्वास्थ्य मन्त्रीले छलफल गरेपछि समिति गठन गरिएको बताए । उनले स्वास्थ्यमन्त्रीले वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका प्रतिनिधिहरुसँग छलफल गरेको जानकारी दिए ।
समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लिमिटेडका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए । साथै उनले मन्त्रालयले क्यान्सर रोग उपचारको सेवा विस्तारको क्रमलाई निरन्तरता दिएको जानकारी समेत दिए ।
उनले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड लगायतका विषयमा अनुगमनका लागि पनि समिति गठन गरिएका जानकारी दिए ।