काठमाडौं : टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा सत्तारूढ कांग्रेस नेता मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बनमा परेका छन् ।
यसरी निलम्बन हुने सांसदहरूको संख्या ३ पुगेको छ भने एक जना फरार छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद तथा पूर्वमन्त्री बस्नेतसहित १६ जना र २ कम्पनी विरुद्ध ३ अर्ब २१ करोडभन्दा बढी बिगो कायम गरी बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । योसँगै बस्नेत सांसद पदबाट स्वतः निलम्बनमा परेका छन् ।
यस्तै, विभिन्न फौजदारी अभियोगमा मुद्दा दायर भएपछि एमाले सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी, रास्वपा सभापति समेत रहेका रवि लामिछाने निलम्बनमा छन् । यस्तै राप्रपाकी सांसद गीता बस्नेत फरार छिन् ।
रायमाझी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराध अभियोगमा २ वर्षदेखि निलम्बनमा छन् । रास्वपा सभापति तथा सांसद लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा दायरपछि निलम्बनमा छन् । सहकारी ठगी आरोपमा राप्रपाकी बस्नेत फरार छिन् ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भए पनि कांग्रेसकै सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले निलम्बन फुकुवा भई प्रतिनिधिसभामा सहभागी हुँदै आएका छन् ।