रुकुम पूर्व : दुर्गम र विकट भेग रुकुम पूर्वको भूमे गाउँपालिका–१ लुकुमकी ४५ वर्षीया रामजनी पुन स्वास्थ्य संस्थामा पुग्न नपाउँदै बाटोमै सुत्केरी भइन् । बुधबार बिहान सबेरै सुत्केरी व्यथा लागेपछि उनलाई लुकुमको आधारभूत स्वास्थ्य केन्द्रबाट काँक्री स्वास्थ्य चौकीमा रिफर गरिएको थियो । तर रामजनीलाई स्वास्थ्य संस्थासम्मको यात्रा सहज थिएन ।
लुम्बिनी प्रदेशकै एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा यातायातको पहुँच नहुँदा सवारी साधन प्रयोग गर्न सकिने अवस्था जिल्लाको दर्जनौं गाउँ बस्तीहरु रहेका छन् । अझैसम्म गाउँमा स्ट्रेचरमा बोकेर बिरामी बोक्नुपर्ने बाध्यता छ । तर रामजनीलाई भने मध्य पहाडी लोकमार्गको छेउमा घर भएका कारण भूमे–२ काँक्रीको स्वास्थ्य केन्द्रमा पु¥याउन ३ पांग्रे अटो रिक्सामा लैजाँदै गर्दा बीच बाटोमा नै अत्यधिक पीडा सुरु भयो ।
उता काँक्री स्वास्थ्य चौकीमा सन्देश पुग्नेबित्तिकै लुकुम आधारभूत स्वास्थ्य केन्द्रकी अनमी किरण पुन र काँक्री स्वास्थ्य चौकीकी सि. अनमी लिलासार बुढा तुरुन्तै घटनास्थल पुगेका थिए । अनमी लिलासारका अनुसार त्यो क्षण एकातिर सुत्केरी पीडामा छटपटाइरहेकी आमा, अर्कातिर बाटोमा रामजनी र उनकी नवजात शिशुको जीवन गुम्ने थियो, तर अथाह कोसिस पश्चात् आमा छोरीको स्वास्थ्यमा खतरा उत्पन्न भएन ।
स्वास्थ्य संस्थाभन्दा टाढा, साधनरहित परिस्थितिमा पनि उनीहरूले रामजनीको सुत्केरी गराए र शिशुको सुरक्षित जन्म सुनिश्चित गरे । काँक्री स्वास्थ्य चौकीका प्रमुख तिलक रोका मगरका अनुसार समयमै थाहा नभएको भए आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्ने सम्भावना प्रबल थियो । ‘स्वास्थ्यकर्मीहरूको तत्परताले दुई जीवन बचाइयो,’ रोकाले खुसी हुँदै भने ।
यातायातको अभाव र समयमै नपुग्ने एम्बुलेन्स, दक्ष जनशक्तिको कमी र भौगोलिक कठिनाइका कारण अझैपनि महिलाहरूले सडकमै सुत्केरी हुने बाध्यता भोगिरहेका छन् ।