तम्घास : यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा ३ पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा ३ पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो । रेसुङ्गा–काठमाडौँका लागि ७ हजार ८० र काठमाडौंँ–रेसुङ्गा ७ हजार २८० भाडादर कायम छ ।
मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन । हप्तामा ३ दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए ।
निगमको १८ सिट क्षमताको जहाजले बिहान ६ः१० बजे काठमाडौँबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ ।