२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

लगानी प्रोत्साहन हुने खालको बजेट आउनुपर्छ : चन्द्र ढकाल

मध्यान्ह
२०८२ वैशाख २८ गते १३:०४
लगानी प्रोत्साहन हुने खालको बजेट आउनुपर्छ : चन्द्र ढकाल

काठमाडौं : सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा लाग्दै गर्दा निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी प्रोत्साहन हुने खालको बजेट ल्याउनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आगामी बजेटका सन्दर्भमा आइतबार राखेको प्रि बजेट छलफलमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको र त्यसले निजी क्षेत्र प्रवर्द्धनलाई सकारात्मक रुपमा लिएको र आगामी वर्षको बजेट लगानीलाई प्रोत्साहन गर्ने गरी आउनेमा निजी क्षेत्रले अपेक्षा गरेको बताए ।

उनकाअनुसार यस पटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तार, नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, निजी क्षेत्र प्रवर्द्धन, सुशासन अभिवृद्धि एवं राजस्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारिता जस्ता पक्षलाई आफ्ना उद्देश्य र प्राथमिकतामा समेटिनु पर्दछ । साधारण खर्च घटाइ विकास खर्च बढाउने र सर्वसाधारणको क्रयशक्ति एवं उद्यमीको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम यस पटकका प्रमुख आकर्षण हुनुपर्ने उनले बताए ।

ढकालले नेपाल उद्योग वाणिज्य महासंघले देशभरबाट गरेको अध्ययन अनुसार उद्योग व्यवसाय विस्तारको बाधकका रुपमा नीतिगत अस्थिरता देखिएको बताए ।

अध्यक्ष ढकालले लगानी बाधकको रुपमा रहेका भूमी, वन, वातावरण, सार्वजनिक खरिद, खनिज र जलविद्युत लगायतका कानुनहरुमा सुधारसहित लगानी सम्बद्ध एकीकृत कानुन बनाइ नीतिगत पारदर्शिता र व्यावसायिक सुरक्षाको सुनिश्चितता गरिनुपर्ने समेत बताए । उनकाअनुसार आम निराशा कम गर्न र युवाहरुलाई व्यवसायप्रति आकर्षित गर्न सुशासनको प्रत्याभुति गराउने खालको बजेट जरुरी छ । त्यसकालागि प्रविधिको उच्चतम प्रयोग  गरेर नागरिक एपबाट व्यवसाय दर्तादेखि सम्पूर्ण काम गर्नसक्ने व्यवस्था गरिनुपर्ने उनले बताए । उनकाअनुसार व्यवसाय नवीकरण गर्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ । राजस्व बुझाएकै आधारमा नवीकरण हुने व्यवस्था गरिनुपर्ने उनले बताए ।

ADV

सम्बन्धित खबर