काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले राजनीतिप्रति बढ्दो वितृष्णा सम्बोधन नगर्ने टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भाग लिँदै प्रमुख सचेतक परियारले यस्तो टिप्पणी गरेका हुन् ।
नीति तथा कार्यक्रम आम नागरिकमा देखिएको राजनीतिप्रतिको वितृष्णा हटाउने गरी नआएको उनको भनाइ छ । उनले १५५ बुँदामा आधारित कार्यक्रमले जनतालाई लोकतान्त्रिक प्रणालीप्रति प्रतिबद्ध बनाउने कुनै स्पष्ट दिशानिर्देश नदिएको उल्लेख गरे ।
उनले राजनीतिज्ञप्रति जनतामा वितृष्णा बड्नु सामान्य भएपनि राजनीतिप्रति वितृष्णा बढ्दा व्यवस्थामाथि गम्भिर खतरा हुने धारणा राखे । संविधान कार्यान्वयनका लागि नीति तथा कार्यक्रम निर्णायक माध्यम हुनुपर्ने धारणा राख्दै प्रमुख सचेतक परियारले आगामी बजेटलाई जनताका मौलिक अधिकार कार्यान्वयन गर्ने बलियो हतियारका रूपमा प्रयोग गर्न सरकारलाई आग्रह गरे ।
सरकारको नीति तथा कार्यक्रममा कुनैपनि नविन कार्यक्रम समावेश नभएको कारण आजको पुस्ताको प्रतिनिधित्व गर्न नसक्ने उनको जिकिर छ ।