२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

सरकार भिजेको बिरालोको हालतमा छ : दाहाल

मध्यान्ह
२०८२ वैशाख २७ गते १७:३०
सरकार भिजेको बिरालोको हालतमा छ : दाहाल

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूले यथास्थिति भत्काउने र रूपान्तरणसहित समाजवादी क्रान्ति चाहेको बताएका छन् । 

निर्मल लामाको २५औं स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले माओवादीले गरिरहेको काममा प्रतिक्रियावादी र अवसरवादीहरूले घेराबन्दी गरिरहेको र भ्रम छरिरहेको बताए ।

उनले प्रतिक्रियावादी र अवसरवादीको षड्यन्त्रको विरुद्ध अविचलित भएर लाग्न नेता र कार्यकर्तालाई आग्रह गरे ।

पार्टीका उपमहासचिव जनादर्शन शर्मालाई लक्षित गर्दै अध्यक्ष दाहालले पार्टीको महामन्त्री बन्न हतार नगर्न नेताहरूलाई सुझाव दिए ।

आफू तत्कालीन समयमा आइलागेर मोटो मसालको महामन्त्री बनेको र अहिले कसैलाई बन्छु भन्ने लागेको छ भने हतार गर्न आवश्यक नरहेको बताए ।

तत्कालीन अवस्थामा मोहन वैद्य ‘किरण’ ले आफूलाई महामन्त्री बन्न भन्दा पनि आफूले नमानेको दाहालले बताए । पार्टी विभाजन भएर मोटो मसाल, पातलो मसाललगायत तीन टुक्रा भएपछि आफू एउटा समूहको महामन्त्री बनेको उनले जिकिर गरे ।

माओवादी केन्द्रमा पनि महासचिव बन्नका लागि अघिल्लो महाधिवेशनमा नेताहरूले तछाडमछाड गरेका थिए । अहिले उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा दुवैले महासचिवको दाबी नछाडेपछि अन्नतः उछिट्टिएर देवप्रसाद गुरुङ बनेका छन् ।
महासचिव नबनाएको भन्दै अध्यक्ष दाहालसँग उपमहासचिव शर्माको सम्बन्ध सुमधुर छैन । शर्माले पार्टी नेतृत्वको कडा टिप्पणी गर्दै आइरहेका छन् । उनले पार्टी विभाजनको अभ्याससमेत गरेको चर्चा चलेको थियो ।

शर्मालक्षित गर्दै दाहालले मोटा मसाल, पातलो मसाल, चौथो महाधिवेशन हुँदै तीनवटा समूह बनेको र अहिले नै कोही साथीहरूलाई हतारो नगर्न बताए ।

यस्तै पाँचथरमा शनिबार नै आयोजित कार्यक्रममा अध्यक्ष दाहालले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरे । आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको बताउँदै यो सरकार आफ्नै कुकर्मको बोझले ढल्ने बताए । 

अबको निर्वाचनमा आफ्नो पार्टी कसैको वैशाखी टेकेर सहभागी नहुने उनले दोहो¥याए । 

उनले पार्टी र आफ्नाविरुद्ध विभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै त्यस्ता भ्रममा नपर्न नेता कार्यकर्तालाई अनुरोध गरे ।

उनले अहिलेको दुई तिहाइ सरकार भिजेको बिरालोको हालतमा रहेको टिप्पणी पनि गरे । दुई तिहाइ सरकारको भिजेको बिरालोको हालत देखिरहेका बताउँदै अध्यक्ष दाहालले सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाए ।
 

ADV

सम्बन्धित खबर