काठमाडौं : नेपालमा दैनिक उपभोग्य खाद्यान्नको आयात बढ्दो छ । भन्सार विभागका अनुसार नेपालमै उत्पादन हुने खाद्यान्न समेत आयात गर्नुपर्ने अवस्था छ ।
विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनामा ६६ अर्ब ५ करोडको सोयाबिन तेल कच्चा आयात भएको छ । २२ अर्ब ६४ करोडको सन फ्लावर कच्चा आयात भएको छ ।
धान, चामल, मकै जस्ता खाद्यान्नको पनि आयात बढ्दो छ । १८ अर्ब ५ करोडको धान, १३ अर्ब ७८ करोडको चामल आयात भएको छ । ९ महिनाकै अवधिमा १३ अर्ब ७३ करोडको मकै आयात भएको छ ।
फलफूलको आयात पनि निरन्तर छ । ९ महिनाकै अवधिमा ७ अर्ब ६४ करोडको स्याउ, ६ अर्ब ४५ करोडको लसुन, ६ अर्ब २ करोडको आलु आयात भएको छ । यी खाद्यान्नको आयातको कुल रकम जोड्दा १५४ अर्ब ३६ करोड हुन पुग्छ । यो रकम चालू आर्थिक वर्षको ९ महिनाको अवधिको तथ्यांक हो ।
नेपाल मकै उत्पादनका लागि उपयुक्त वातावरण भएको मुलुकमा पर्छ । तर, ठूलो मात्रामा उत्पादन हुन नसक्दा आयात गर्नुपर्ने बाध्यता छ । धान पनि उत्पादन हुने गर्छ । तर, नेपाल धान र चामल दुवै आयात गर्नुपर्ने बाध्यतामा छ ।
विभागका अधिकारीहरूका अनुसार स्थानीय उत्पादनले माग धान्न नसक्दा धान, चामल, मकैलगायत खाद्यान्नको आयातमा निरन्तर वृद्धि छ । पछिल्लो समय खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुँदै गएको र काम गर्ने युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकोलगायतका कारण स्थानीय उत्पादनले माग धान्न नसक्दा खाद्यान्न आयात बढ्दो क्रममा रहेको हो ।
यस्तो विषयलाई सरकारले गम्भीर रूपमा लिएर उचित नीति नलिएर नेपाल थप समस्यामा पर्न सक्ने भनेर संघीय संसद्मा समेत आवाज उठ्ने गरेको छ । संसद्मा जारी सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा यो विषयसमेत कतिपयले उठाइरहेका छन् ।
राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेल मुलुकको व्यापारघाटा कहालीलाग्दो रहेको बताउँछन् । लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र सरकारको उच्च प्राथमिकतामा रहेको भनिए तापनि आमनागरिकको चाहना र अपेक्षाअनुसारको आर्थिक वृद्धि हुन नसकेकामा उनको प्रश्न छ, ‘कहालीलाग्दो व्यापारघाटाले मुलुकको अर्थतन्त्र कता जाँदै छ ?’
अर्थतन्त्र र व्यापारघाटाका तथ्य र तथ्यांकलाई गहिरो विश्लेषण गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई उनको सुझाव छ । उनी अगाडि भन्छन्, ‘स्वदेशमै उत्पादन हुन सक्ने वस्तुहरूको उत्पादन र उत्पादकत्व वृद्धि गरी व्यापारघाटा न्यूनीकरण गर्नेगरी बजेट आउनु आवश्यक छ ।’