काठमाडौ : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले ‘नेपाल मोबिलिटी एक्सपो २०२५’ आयोजना गर्ने भएको छ । आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्नेगरी अटोमोबाइल प्रदर्शनी ‘नेपाल मोबिलिटी एक्सपो २०२५’ आयोजना गर्ने भएको हो ।
प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा सो क्षेत्रमा सरोकार राख्ने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ । साथै अटोमोबाइल क्षेत्रमा समय–समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीहरूलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्ने विश्वास आयोजकको छ ।
प्रदर्शनीमा सहभागिताको लागि स्टल बुकिङ यही वैशाख २२ देखि २९ गतेसम्म खुला रहने जनाइएको छ । इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्ने र अन्तिम स्टल बाडफाड पारदर्शी लटरी प्रणालीमार्फत् गरिने आयोजकले जनाएको छ । दुई र चार पांग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधनका लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनैपनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ ।
‘नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ’, नाइम(ाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन्, ‘हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं ।’