– राधा कार्की
मञ्जरीमा एकथरि छन्
वैभव विलासितामा पौडनेहरू
जो सधैं कल्पनाको उडानमा रहन्छन् ।
अर्काथरि छन्
नकारात्मकका पनडुब्बीमा
वागी पदयात्रीहरू
जो सधैं अवरोध र अन्योलको कुरा गर्छन् !
अझ अर्काथरि पनि छन्
सदाबहार भुइँमान्छेहरू
न ती सपनाका कुरा गर्छन्
न ती हकदाबीका कुरा गर्छन्
यिनीहरू घामसँगै ब्युँझन्छन्
र आफ्नै विश्वासका टाँगाहरूमा
पसिना निचोरेर सुकाउँछन् ।
देश बाँचे मात्र
आफू बाँचेको ठान्नेहरूको दुखाइ
प्रसव पीडाभन्दा अझ गहिरो छ
यी स्वाभिमानका पहाडहरू
मुस्कुराइरहेछन्
अनादिकालदेखि नै
श्रमका फुलेल थुँगाहरूमा !