२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

आँपको बतिला झर्ने समस्याले सर्लाहीका किसान चिन्तित

घनश्याम बलम्पाकी
२०८२ वैशाख १७ गते १८:०३
आँपको बतिला झर्ने समस्याले सर्लाहीका किसान चिन्तित

सर्लाही : आँपको बतिला झर्ने समस्याले यतिबेला सर्लाहीका आँप खेती गर्ने किसान चिन्तित भएका छन् । सयौं हेक्टरमा लगाइएको आँप खेतीमा सिंचाइको अभाव र प्राविधिक ज्ञान नहुँदा बतिला झर्ने समस्याले किसान चिन्तित भएका हुन् । जिल्लाको सबैभन्दा बढी आँप खेती हुने हरिवन नगरपालिकाका किसान सिंचाइ अभावमा खेती गर्न समस्या भइरहेको यस क्षेत्रका किसानले गुनासो गरेका छन् ।

सर्लाहीको उत्तरी क्षेत्रमा पर्ने हरिवन १, २, ३ र ४ साविक अत्रौली र सासापुर गाविसका अधिकांश किसानले व्यावसायिकरूपमा आँप खेती गर्दै आएका छन् । हरिवन २ अत्रौलीका किसान लक्ष्मी प्रसाद मैनालीले ३ बिगाह क्षेत्रफलमा व्यावसायिक रूपमा आँप खेती गर्दै आइरहेका छन् । सिंचाइको अभावमा भनेजस्तो फाइदा लिन नसकेको उनको गुनासो छ ।

कुनै वर्ष समय समयमा वर्षा हुँदा आँप राम्रो हुन्थ्यो, तर यो वर्ष समयमै पर्याप्त पानी नपर्दा उत्पादन घट्ने उनको चिन्ता छ । उनका अनुसार सानोसानो बतिला लागेको बेला पानी अति आवश्यक हुन्छ, तर वर्षा नहुँदा आँपको दाना झर्ने समस्या भइरहेको छ । बतिलाका लागि भिटामीन र विषादीको आवश्यक हुन्छ । प्राविधिक ज्ञान बिना नै खेती गर्दा यो समस्या आउने कृषि विज्ञहरू बताउँछन् । सिंचाइ सुविधा नरहेको र कुनै पनि निकायबाट प्राविधिक सहयोग नपाउँदा खेती गर्न गाह्रो भइरहेको उनले गुनासो गरे ।

हरिवन–३ का किसान विनोद लोप्चनका अनुसार प्रायः अधिकांश किसानले प्राविधिक ज्ञान बिना नै विषादी प्रयोग गर्छन् । जुन पसलबाट बिषादी ल्याएको हो, त्यही पसल संचालकको सल्लाह अनुसार विषादी प्रयोग गर्दा कहिले काहीँ फल झर्ने, डढ्ने जस्ता समस्या देखिने गरेको उनले बताए । 

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव कुशवाहाका अनुसार सिंचाइ, तापक्रम र किराका कारण बतिला झर्ने समस्या देखिन्छ । यसको समाधानका लागि पर्याप्त सिंचाइ, अनुकूल तापक्रम र समय समयमा किरा रोकथमामका लागि विषादी छर्कनुपर्ने उनको सुझाव छ ।

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल)ले सुख्खा अत्रौली र सासापुरमा व्यावसायिक आँप खेती गर्ने किसानका लागि विषादी छर्न विषादी छर्कने उपकरण, आँप टिप्ने मेसिनलगायत सामग्री वितरण गरेको र डिप बोरिङमार्फत सिंचाइ सुविधा पुर्‍याउन बजेट व्यवस्था गरी काम अघि बढाइसकेको जानकारी दिए । उनले आँप खेती गर्ने किसानका लागि प्राविधिक ज्ञानसम्बन्धी तालिमसमेत दिने तयारीमा रहेको बताए । यस वर्षबाट आँपको ग्रेडिङसमेत गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

ADV

सम्बन्धित खबर