केन्टकी, अमेरिका : अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्टकी च्याप्टरको मुख्य आयोजना र नेपाल गजल प्रतिष्ठान अमेरिका शाखाको सकहार्यमा युवाकवि मोतीराम भट्टको १६०औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न भएको छ ।
केन्टकी राज्यको सुन्दर सहर लेक्जिन्टनमा आयोजित उक्त काव्यसभामा नेपाली साहित्यको गजल विधाका प्रवर्तक मोतीराम भट्टको स्मरणमा आधा दर्जन सर्जकका गजल गीत गुञ्जिए । संगीतकारत्रय मुरारी गुरागाईं, उपेन्द्र शाही, अरविन्द्र निरौलाको सांगीतिक प्रस्तुति पनि राखिएको थियो ।
त्यसैगरी मित्र सुवेदी, बद्री दाहाल, रेखा जोशी, खेम रेग्मी, जीवन निरौला, अर्जुन थापा, किशोर सुवेदी, सन्त कुँवर, एकनारायण सुवेदी ज्ञानेन्द्रप्रसाद दाहाललगायत दर्जनौँ सर्जकहरूले गजल एवं कविता प्रस्तुत गरे ।
डमरु पौडेलले कवितात्मक लयमा रोचक तरिकाले कार्यक्रम र समग्र प्रस्तुतकर्ताहरूको समीक्षात्मक टीप्पणी गरे ।
कवि लालगोपाल सुवेदीले नेपाली भाषा र साहित्यलाई दोस्रो पुस्तामा हस्तान्तरण र अन्तराष्ट्रियकरण गर्दै नोबेल पुरस्कारका लागि दावी गर्नुपर्नेमा जोड दिए ।
समारोह स्थलमा सुवेदीका डेढ दर्जन कृतिहरू बिक्रीबाट संकलित २ सय डलर रकम अनेसास केन्टकी च्याप्टरलाई हस्तान्तरण गरेका थिए ।