२०८३ कार्तिक २५ गते बुधवार / Nov 11 , 2026 , Wednesday
२०८३ कार्तिक २५ गते बुधवार

कांग्रेसद्वारा एमालेसँग भएको सहमतिको स्वागत र समर्थन

Nada
२०८१ असार १९ गते १७:१९
Shares
कांग्रेसद्वारा एमालेसँग भएको सहमतिको स्वागत र समर्थन

काठमाडौँ : नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग यही असार १७ गते  राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धमा गरेको सहमतिको स्वागत एवं समर्थन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले दुई दलबीच राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास–निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको सहमतिको स्वागत एवं समर्थन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलोपटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दोस्रोपटक कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेगरी भएको सहमतिलाई कार्यान्वयन गर्न दृढता व्यक्त गरेको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा भएको बैठकले कांग्रेस र एमालेबीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकामा प्रतिनिधिसभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई दृष्टिगत गरी प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न उचित हुने ठहर गरेको छ ।

यसैगरी, महाधिवेशन सम्पन्न नगरेका कांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न, गराउन फरक भ्रातृ सङ्घका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ । 

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांगता संघ र नेपाल थारू संघका निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्ममा अनिवार्य रूपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्नेगरी दिइएको कार्यादेश, संघका तदर्थ कार्यसमितिहरूको समयावधिलगायतक विषयमा यही असार १७ गते गरिएको निर्णयलाई बैठकले पारित गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर