काठमाडौं : नेपाल प्रहरी प्रमुख अर्थात् महानिरीक्षकमा दीपक थापा नियुक्त भएसँगै अतिरिक्त महानिरीक्षक (एआईजी)का ६ दरबन्दी रिक्त भएका छन् ।
सोमबार मात्र वसन्त कुँवरको अवकाशसँगै थापालाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेको थियो । सोमबार रातिदेखि नै एआईजीहरू टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका छन् । उनीहरू अवकाशमा गएसँगै ५ र थापा महानिरीक्षक भएपछि १ गरी ६ एआईजीको पद रिक्त भएको हो ।
जनपद प्रहरीमा ८ एआईजीको दरबन्दी रहेकामा टेकबहादुर तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख छन् भने अर्का एआईजी सुदीप गिरी प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान)का प्रमुख छन् ।
मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्य विभाग र केन्द्रीय अनुसन्धान ब्युरोमा एआईजी पद रिक्त छ ।
रिक्त एआईजीका लागि दौडधुप सुरु भएको छ । हाल डीआईजी रहेकामध्ये अधिकांशले एआईजीका लागि लबिङ गरिरहेका प्रहरी स्रोत बताउँछ । लबिङमा रहेकामध्ये सीआईबीमा रहेका डीआईजी चन्द्रकुवेर खापुङ, मधेश प्रदेशका डीआईजी लालमणि आचार्य प्रमुख दाबेदार छन् ।
२९ चैत २०७९ मा डीआईजीमा बढुवा भएका यी २ जनासँगै उनीहरूकै ब्याचका कृष्णहरि शर्मा पनि बलिया दाबेदार हुन् । बाग्मती प्रदेश प्रमुख रहेका शर्मा गत जेठमा मात्र डीआईजीमा बढुवा भएका थिए ।
डीआईजीमा सँगै बढुवा भएका तर अघिल्लो ब्याचका दानबहादुर कार्की, प्रहरी एकेडेमीमा कार्यरत मनोज केसी, कोशी प्रदेशमा कार्यरत राजन अधिकारी पनि बढुवाका दाबेदार हुन् । कार्की हाल हाल लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख छन् ।
डीआईजीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी पनि एआईजी बढुवाका लागि लबिङमा छन् ।