२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

संसद्कै वेबसाइट छैन सुरक्षित

संविधानसभाका सबै डकुमेन्ट ह्याक, सांसदहरूको भिडियो प्रोफाइल डिलिट

shivam cement
दिवाकर अधिकारी
२०८२ भदौ ८ गते ०७:२६
संसद्कै वेबसाइट छैन सुरक्षित

काठमाडौं : देशको नीति बनाउने संघीय थलो हो– सिंहदरबार । जहाँ व्यवस्थापिका र कार्यपालिकाका कार्यलय छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि कार्यपालिका निकाय सिंहदरबारमा छन् । व्यवस्थापिकाअन्तर्गत सभामुखको कार्यालयदेखि संसदीय समितिका कार्यालय त्यहीँ छन् । राजनीतिक दलका संसदीय दलका कार्यलय सिंहदरबार भित्रै छ । राज्य चलाउनेहरू सबै रहने सिंहदरबार कति ठिकठाक छ त ? यो प्रश्नको एउटै जवाफ मिल्दैन । किनभने, सिंहदरबार ठिकठाक भए मुलुक नै ठिकठाक हुन्छ । सिंहदरबार ठिकठाक छैन भन्ने एउटा उदाहरण हो– वेबसाइट । अधिकांश सरकारी कार्यालयका वेबसाइट कुनबेला बन्द हुन्छन् र कुनबेला खुल्छन् भन्ने नै थाहा हुँदैन । यस्तैमा पर्छ संघीय संसद्को वेबसाइट पनि । गत साउन २९ गते संसद्को वेबसाइटको सर्भर दिनभरजसो डाउन भयो । त्यस दिन प्रतिनिधि सभाको बैठक थियो । सभाको बैठक प्रत्यक्ष प्रसारण हुन्छ । वेबसाइटको सर्भर डाउन भएपछि युट्युबबाट मात्रै प्रत्यक्ष प्रसारण देखाइयो । 

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार वेबसाइटमा प्रावधिक समस्या आएकाले समस्या भएको हो । सरकारी कार्यालयहरू र संघीय संसदको वेबसाइट बारम्बार डाउन र ह्याक हुने गरेको विषय संसदमा पनि उठ्छ । सांसदहरू प्रश्न उठाउँछन् । तर, समस्या बारम्बार दोहोरिरहन्छ । 

गत चैत तेस्रो साता दुई दिनसम्म प्रतिनिधि सभाको वेबसाइट डाउन भएको थियो । त्यसअघि र त्यसपछि पनि संसदको वेबसाइट पटकपटक डाउन भएका छन् । 

वेबसाइट ह्याक हुँदा प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा भएका गतिविधि नै उडेको छ । त्यसबेला तत्कालीन सांसदहरूको भिडियो प्रोफाइल बनाएर वेबसाइटमा राखिएको थियो । वेबसाइट ह्याक हुँदा ती प्रोफाइल डिलिट भएका छन् । पुनः अपलोड भएको छैन । संविधान सभाका कुनै पनि डकुमेन्ट संघीय संसद् सचिवालयको वेबसाइटमा छैन । 

तथापि, संसद्को वेबसाइटको विषयमा संसद्मा बेलाबेला प्रश्न भने उठिरहेको छ । गत फागुन १२ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले सरकारी वेबसाइट तथा डोमेनको भरपर्दो सुरक्षा हुनुपर्ने बताए । यो विषयमा सरकार गम्भीर बन्नुपर्ने उनको आग्रह छ । 
‘वेबसाइट र डोमेन ह्याक हुन नसक्ने गरी भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन आवश्यक छ,’ उनले भनेका छन्, ‘सर्भर डाउन हुँदा कतिपय गोप्य र संवेदनशील कुरा पनि बाहिर गएका छन् । यसले साइबर सुरक्षामाथि प्रश्न खडा गरेको छ ।’ 
गत वर्ष माघ १४ गते नेपाल सरकारको केन्द्रीय डाटा बैंकमा आक्रमण भएको थियो । सो बैंकको सर्भर करिब ५ घण्टा अवरुद्ध भएको थियो । त्यसक्रममा झन्डै १ हजार ५ सय साइट ह्याक हुन पुगेको भनेर प्रश्न उठेको थियो ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सर्भर नै डाउन भएको छ । त्यसबेला अन्तर्राष्ट्रिय हवाई यात्रु केहीबेर अलपत्र परेका थिए । यस्तो दोहोरिरहँदा पनि सरकार गम्भीर नबनेको भनेर संसद्मा प्रश्न उठ्ने गरेका हुन् । तथापि, समस्या देखिन छाडेको छैन । 

ADV

सम्बन्धित खबर

Advertise