२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

साउदीमा निधन भएका चौधरीको परिवारलाई आर्थिक सहयोग

shivam cement
अन्जान गुभाजु
२०८१ चैत ४ गते ०९:०९
साउदीमा निधन भएका चौधरीको परिवारलाई आर्थिक सहयोग

साउदी अरेबिया : साउदी अरबको दमाममा गत मार्च ७ तारिख क्याम्पमा सुतिरहेको अवस्थामा निधन भएका रौतहट भवानीपुरका बिनोद कुमार चौधरीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । 

चौधरी कार्यरत कम्पनीका कामदारहरूले सहयोगस्वरूप संकलन गरेको ११,५२५ साउदी रियाल ( ४ लाख २५ हजार २३८.८ रुपैयाँ) मृतकको परिवारलाई हस्तान्तरण गरिएको हो ।

करिब ८ महिनाअघि ४० वर्षीय चौधरी गण्डकी ओभरसिजबाट दमामस्थित अल दाम अल मुह्राफ अपरेसन तथा मेन्टेनेन्स कम्पनीमा कामदार भिसामा आएका थिए । उनी सप्लाई कम्पनी मार्फत दमामको सेकेन्ड सनैयास्थित एक पाइप कम्पनीमा कार्यरत थिए । 

मार्च ६ बिहीबार राति ड्युटी गरी बिहान खाना बनाएर बेलुकी ड्युटीका लागि टिफिन तयार गरी सुतेको अवस्थामा उनको निधन भएको उनका सहकर्मी नेपाली सुपरभाइजर सुमन खड्काले जानकारी दिए ।

खड्काका अनुसार काममा अब्बल रहेका चौधरीको अकस्मात् निधनको खबरले आफूहरू मर्माहत भएको र उनको परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भनेर कामदार साथीहरूबाट सहयोग संकलन गरिएको हो ।

कमाउन साउदी आएका चौधरीको निधनपछि मानवीय सहयोगस्वरूप संकलित रकम उनको परिवारसँग छलफल गरी आइतबार इन्जाज रेमिटमार्फत उनकी श्रीमती गीता चौधरीको खातामा हस्तान्तरण गरिएको नेपाली साझा मञ्च साउदीका कोषाध्यक्ष भरत पौडेलले जानकारी दिए।

मृतक चौधरीको शव आवश्यक प्रक्रिया पूरा गरी छिट्टै स्वदेश पठाइने नेपाली दूतावासका प्रथम सचिव टीकाराम उपाध्यायले जानकारी दिए । मृतकका श्रीमती, एक छोरा र एक छोरी छन् । परिवारले चौधरीको शवलाई छिटोभन्दा छिटो स्वदेश फर्काइदिन साउदीस्थित संघसंस्था र नेपाली दूतावासलाई अपिल गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise