सुर्खेत : नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्र हुन नसके लाेकतन्त्र मासिने बताएकी छन् । शुक्रबारदेखि सुर्खेतकाे वीरेन्द्रनगरमा महासंघ कर्णाली प्रदेश समितिले आयाेजना गरेकाे 'कर्णाली प्रदेशका पत्रकार महिलाका लागि व्यावसायिक पत्रकारितामा लैंगिक संवदेनशील' विषयक तालिमकाे उद्घाटन सत्रमा बाेल्दै अध्यक्ष शर्माले यस्ताे बताएकी हुन् ।
अझै पनि समाचार लेखेकै भरमा पत्रकारहरु असुरक्षित हुने अवस्थाकाे अन्त्य हुन नसकेकाे उल्लेख गर्दै अध्यक्ष शर्माले पत्रकारितालाई कमजाेर बनाउन लागेकाे असंगठित समूहप्रति सचेत रहनुपर्ने बताइन् । तीन दिनसम्म चल्ने तालिमकाे प्रशिक्षकसमेत रहेकी अध्यक्ष शर्माले व्यावसायिक पत्रकारिता मजबुत र बलियाे भएमात्रै महिलाहरुलाई पत्रकारितामा आकर्षित गराउन सकिने बताइन् ।
महासंघमा सदस्यता शुद्धीकरणमा देखिएकाे विवाद समाधान गर्न सामाजिक परीक्षण आवश्यक रहेकाे उनकाे भनाइ थियाे । संघ, प्रदेश र स्थानीय सरकारले निर्माण गर्ने हरेक नीतिहरु सञ्चारमैत्री हुनुपर्ने उनकाे जाेड थियाे । तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सकेमात्रै महिला पत्रकारहरुकाे सशक्तीकरण हुने उनकाे भनाइ थियाे ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लुकाइएका मात्र नभइ तथ्यमा आधारित रहेर लुकेका सामग्री प्रचारप्रसार गरी समाजमा उत्साह छर्नतर्फ पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताए । प्रदेश सरकारले विकास, निर्माण र सुशासन कायम गर्ने दिशामा चालेकाे कदमलाई पत्रकारका कलमले चिन्न सके समाजमा रहेकाे निराशा चिर्न सकिने मुख्यमन्त्री कँडेलले दाबी गरे ।