२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

सरकारले लिनुपर्ने पहलकदमी

२०८१ माघ १७ गते ०६:४५
सरकारले लिनुपर्ने पहलकदमी

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेसँगै गैरकानूनी आप्रवासीहरुप्रति कठोर नीति कार्यान्वयनमा लगेका छन् । उनले राष्ट्रपतिको चुनाव जित्दा घोषणा गरेका मध्ये यो एक महत्वपूर्ण एजेण्डा थियो । ‘अमेरिका फस्ट’ नीति अख्तियार गर्दै ट्रम्पले गैरकानूनी आप्रवासीहरुलाई उसकै देशमा फिर्ता पठाउने, विश्व स्वास्थ्य संगठनमा भइरहेको लगानी घटाउने, युद्धहरुबाट अलग हुने, जलवायु परिवर्तनका कार्यक्रममा लगानी नगर्ने, बाह्य देशका उत्पादनमा कर बढाउने जस्ता घोषणा गरेका थिए । बहालवाला राष्ट्रपति जो वाइडेनलाई हराएर राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले पूर्वघोषित कार्यक्रमहरू कार्यान्वयनमा लगेका छन् । पूर्व घोषित निर्णयहरु त्यसमध्ये गैरआप्रवासीहरुलाई उसकै देश पठाउने निर्णयलाई देखिनेगरी कार्यान्व्यनमा लगेका छन् । 

मेक्सिको, क्यानडा, भारत लगायत देशबाट अमेरिका बसिरहेका गैरकानुनी आप्रवासीहरुप्रति ट्रम्प प्रशासन कठोर देखिएको छ । नेल लगाएर स्वदेश फर्काइएको दृष्यबाट ट्रम्प प्रशासनले यो एजेण्डामा सम्झौता नहुने सन्देश दिइसकेका छन् । ट्रम्प प्रशासनको त्यस्तो अडानबाट सवभन्दा ढबी मेक्सिको प्रभावित हुने देखिन्छ । दोस्रोमा भारत र तेस्रोमा चीन छ । अरू थुप्रै देशले पनि अमेरिकाबाट फिर्ता हुने आप्रवासीहरुबारे समस्या खेप्नु पर्ने भएको छ । छिमेकी भारतका ७ लाख बढी मानिसले अमेरिकामा गैरकानुनी बसोबास गरिरहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति ट्रम्पसँग सम्वाद थालिसकेका छन् । बलिया देशका सरकारहरुले पनि अमेरिकी प्रशासनसँग सम्वाद थालेका छन् । किनकि ट्रम्प प्रशासनबाट कानुनी प्रक्रिया नपुगेका आप्रवासीहरुप्रति निर्मम व्यवहार गरिदैछ । 

ट्रम्प प्रशासनको नीतिबाट नेपालीहरु पनि प्रभावित बनेका छन् । गैरकानुनी रुपमा अमेरिका बसोबास गरिरहेका झण्डै तीन हजार नेपालीलाई ट्रम्प प्रशासनले नेपाल फर्काउने अनुमान विभिन्न अध्ययनहरुमा गरिएको छ । त्यस मध्ये कतिपय ओभर स्टे छन् भने कतिपय भिषा च्यातेर बसिरहेका नेपाली छन् । पछिल्लो समय त गैरकानुनी बाटो भएर अमेरिका जान दुःख पाएका वृतान्त धाराप्रवाहिक आइरहेका छन् । ठूलो रकम दलाललाई बुझाएर अमेरिका पुग्ने नेपालीहरुको संख्या बढिरहेको छ । विभिन्न कार्यक्रममा जाने र उतै लुक्ने संख्या उस्तै छ । नक्कली भुटानी शरणार्थी बनाएर समेत अमेरिका पठाउने गल्ती गर्दा जेलजीवन बिताइरहेका भीआईपीहरुबाटै नेपालीको अमेरिका मोह अनुमान लगाउन सकिन्छ । तर ट्रम्प प्रशासनले अपनाएको कठोर नीतिबाट गैरकानुनी रुपमा अमेरिका पुगेका र बसिरहेका नेपालीहरु ठूलो संकटमा पर्दैछन् । उनीहरुबारे आवश्यक निर्णय र पहलकदमी लिन नेपाल सरकारले ढिलाइ गर्न हुन्न । 

ADV

सम्बन्धित खबर