२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ’

Nada
रासस
२०८१ कार्तिक २१ गते १२:२४
Shares
‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ’

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका-२ रोहोटेका चन्द्रबहादुर घिमिरे तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बनेका छन् ।  गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौँतारिने युवाहरूका लागि प्रेरणाको स्रोत बनेका हुन् ।

ncell

आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय घिमिरेले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् । 'जहाँ भए पनि काम नगरी सुख पाइँदैन', उनले भने, 'बिचौलियालाई लाखौँ पैसा दिएर आफैलाई बेचेर विदेशमा पुगेर अर्काको नोकर बन्नु भन्दा आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ ।'

पाँच हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गरेका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरू लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले एक याममा रु. चार लाखभन्दा बढी कमाई हुने बताए ।

अमृता कृषि फार्म सञ्चालन गरेका घिमिरेले आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनले गोलभेडा, काउली, बन्दा, आलु, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बेनी बजारमा बिक्री गर्दै आएका छन् ।

घिमिरेको कृषि फार्ममा श्रीमती र छोराले पनि साथ दिएका छन् । छोरालाई उच्च शिक्षा पढाउन र घर व्यवहार चलाउन तरकारी खेतीले सहज भएको घिमिरेले बताए । कृषि ज्ञान केन्द्रले हाइटेक प्रविधिको टनेल स्थापना गर्न सहयोग गरेको छ । केन्द्रका प्रमुख सञ्जीव बास्तोला चन्द्रबहादुर मेहनती, परिश्रमी, संघर्षशिल र सफल अगुवा कृषकको पहिचान बनाउन सफल भएका बताउँछन् ।

बेनी नजिकै रहेको र सडक यातायातको सुविधाका कारण बजारको समस्या नभएपछि छिमेकीको जग्गाका हुर्कँदै गरेका रुखको ओसेप घिमिरेको व्यावसायिक तरकारी खेतीका लागि चुनौती बनेको छ ।

सम्बन्धित खबर