२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

इतिहासमा पहिलोपटक दिपावलीको अवसरमा न्यूयोर्क सहरका विद्यालय बन्द रहने

Nada
२०८१ कार्तिक १४ गते १३:३३
Shares
इतिहासमा पहिलोपटक दिपावलीको अवसरमा न्यूयोर्क सहरका विद्यालय बन्द रहने

काठमाडौंः इतिहासमै पहिलोपटक हिन्दू पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् । ‘यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा पहिलोपटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय बन्द गरिने भएको छ’, मेयरको अन्तर्राष्ट्रिय मामिला विभागका उपायुक्त दिलीप चौहानले बताए । 

ncell

‘११ लाख विद्यार्थी रहेको न्युयोर्क सहरमा विद्यालय सार्वजनिक बिदा घोषणा गर्न सजिलो छैन’, चौहानले भने, ‘विभिन्न समुदायका नेता, अधिवक्ता, निर्वाचित अधिकारीहरुले धेरै वर्षदेखी यस विषयमा पहल गरिरहेका थिए । अन्ततः न्युयोर्क सहरका मेयर एरिक एडम्सको प्रशासनले नोभेम्बर १, शुक्रबार विद्यालय बिदाको घोषणा गरेको छ ।’

चौहानले दिपावलीका लागि सार्वजनिक बिदा घोषणा गरेकोमा मेयर एरिक एडम्सप्रति कृतज्ञता व्यक्त गरेका छन् । चौहानले भने, ‘मेयर एरिक एडम्सको यो घोषणाप्रति हामी धेरै आभारी छौँ । सबैलाई दीपावलीको शुभकामना ।’

यसअघि जुनमा, न्यूयोर्क सहरले आधिकारिक रूपमा दीपावलीलाई सार्वजनिक विद्यालय बिदाको रूपमा घोषणा गरेको थियो । दिवाली हिन्दू, जैन, सिख र बौद्धद्वारा मनाइने प्रमुख चाडमध्ये एक हो । यो अब न्युयोर्क सहरका विद्यार्थीलाई उत्सव मनाउनका लागि सार्वजनिक विद्यालय बिदाको दिन हो । 

यसैबीच, अमेरिकी प्रथम महिला, जिल बाइडेन र राष्ट्रपति जो बाइडेनले अक्टोबर २८ मा ह्वाइट हाउसमा दिपावली उत्सवको आयोजना गरी संयुक्त राज्य अमेरिकाभरीका भारतीय मुलका अमेरिकीहरूलाई उपस्थित हुन आमन्त्रित गरेका थिए। 

ह्वाइट हाउसले सामाजिक सञ्जाल एक्समार्फत दिपावली उत्सवको तस्वीर साझा गर्दै लेखेको छ, ‘ह्वाइट हाउसको तर्फबाट सबैलाई दीपावलीको शुभकामना !’  

सम्बन्धित खबर