२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न उद्योग वाणिज्य महासंघको आग्रह

Nada
२०८१ कार्तिक ९ गते २१:०७
Shares
डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं : उद्योगमा जडित डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानी सम्बन्धी विवाद वार्ताद्धारा समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघ आग्रह गरेको छ ।

ncell

विवादका कारण बारम्बार उद्योगहरुको बिजुलीको लाइन काटिँदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर परि गलत सन्देश जाने भन्दै विवाद समाधान गर्नका लागि सम्बन्धित सबै पक्षमा आग्रह गरेको हो ।

‘यो विवाद समाधानका लागी लाइन नकाट्ने र हाल काटिएको बिजुली तत्कालै जडान गरी वार्ताद्वारा सबैपक्ष बसेर समाधान खोज्नु आवश्यक रहेको छ’, महासंघको विज्ञप्तिमा भनेको छ ।

विभिन्न समयमा विभिन्न प्रत्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको विषयमा उद्यमी व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच मत भिन्नता रहेको छ । जसले गर्दा धेरै समयदेखि यो बिषय अल्झिएको छ । बिजुली उपभोगको प्रमाणको आधारमा अतिरिक्त विद्युत महसुल भुक्तानी गर्नेमा उद्यमीहरु तयार रहेको महासंघले जनाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद सदाको लागि अन्त्य गर्न सर्बोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भएको थियो । तर उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन् । लाल आयोगको प्रतिवेदनको पृष्ठभूमिमा वार्ताको माध्यमबाट लामो समय देखिको डेडिकेटेड फिडर र ट्रंकलाइनसम्बन्धी समस्या समाधानको लागी नेपाल विद्युत प्राधिकरणको सक्रिय भूमिका आवश्यक रहेको महासंघको भनाइ छ । 

महासंघले तत्कालै काटिएको सम्पूर्ण उद्योगहरुको लाइन जडान गरी लाल आयोगको प्रतिवेदनको सिफारिसको आधारमा डेडिकेटेड फिडर र ट्रंकलाइन सम्बन्धित विवाद  टुंग्याउन आग्रह गरेको हो ।

सम्बन्धित खबर