२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

दशैंमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

Nada
२०८१ कार्तिक २ गते १२:४६
Shares
दशैंमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

सुनसरी : दशैंमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

ncell

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दशैंको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएको छ ।

घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उनले बताए । 

प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् । सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यसैगरी धनकुटा र खोटाङमा एक–एक जनाको मृत्यु भएको छ ।

बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा परेका छन् भने रु ५१ लाख ९५ हजार पाँच सय राजस्व संकलन  भएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा दशैंका बेलामा छ दिनमा एक सय ३५ वटा सवारी दुर्घटना भएको थियो ।

सम्बन्धित खबर