२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौं : राष्ट्रपति

Nada
२०८१ असोज ३ गते १९:१७
Shares
हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौं : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गरेका छन् ।

ncell

संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा विहिबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेल उक्त अपिल गरेका हुन् ।

उनले भने, “ हामी संकल्प गरौ की हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् । नागरिकको हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन ।”

उनले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प चाहिने उल्लेख गर्दै भने, “लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ भन्दै उहाँले लक्ष्य प्राप्त गर्न अविचलित भइ अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ ।”

“हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्वपूर्ण संकल्प गरौं, पहिलो संकल्प गरौं, हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहने छौं । जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउने छौं र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौं”, राष्ट्रपति पौडेलले भने, “अर्को संकल्प गरौं कि हामी सुशासन प्रति प्रतिवद्ध रहने छौं तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौं ।”

राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेश्रो संकल्प गर्न आग्रह पनि गरे । राष्ट्रपति पौडेलले भने, “भ्रातृत्व, एकता र समभाव हाम्रो जीवन पद्दति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ ।” उनले जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिनेछैनौं भन्ने अर्को संकल्प गर्न आग्रह गरे । “पाँचौ, संकल्प गरौं कि हामी नागरिकको हितका लागि समर्पित हुनेछौ”, राष्ट्रपति पौडेलले भने ।

यी संकल्प गर्दै मुलुकको सम्वृद्धिको यात्रामा अघि बढिरहँदा हामीले ध्यान दिनपर्ने केही महत्वपूर्ण विषयहरू भएको बताउँदै उनले पहिलो त हामीले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताए ।

“राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जगाउन सकोस्, जसले नागरिकलाई यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्रप्रति भरोसा जगाउन सकोस्”, राष्ट्रपति पौडेलले भने ।

उनले संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्ने, विकास निर्माणलाई तीव्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने अहिलेको महत्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान दिनु अहिलेको आवश्यकता रहेको बताए ।

यसैगरी उनले बेथिति र अनियमितताको अन्त्यमा जोड दिए । “बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरूलाई जिर्ण र विश्वासहिन बनाउने चिन्ता सर्वत्र भैरहेको छ । यसबाट नागरिकको भरोसा नडगमगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त ? यो भरोसालाई पुनर्स्थापित नगरी न त हामी संविधानका लक्ष्यहरू प्राप्त गर्न सक्छौं, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ । आजका दिनमा हामीले भ्रष्टाचारमा शुन्य सहनसिलतालाई कडाईंकासाथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ”, उनले भने ।

आज उत्साह र उमंगका साथ संविधान दिवस मनाइरहँदा आफैंभित्र आशाको नयाँ दियो बाल्न उनले आग्रह गरे । “किनभने, यो निरास बस्ने समय होईन, यो हामीबीच आरोप प्रत्यारोप गर्ने समय होईन, यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन, यो एकतावद्ध हुने समय हो, यो आफैंप्रति विश्वस्त हुने समय हो, यो भविष्य उन्मुख हुने समय हो, आजको दिनले हामी सबैलाई निरासाबाट आशा र समृद्ध नेपाल निर्माणको बाटोतिर जान प्रेरणा दिन सकोस्”, राष्ट्रपति पौडेलले भने ।

ताजा खबर

सम्बन्धित खबर