सुत्केरी सांसदले खाने औषधि पुरुष सांसदले खाएको भन्दै नक्कली बिल पेश गर्ने अनि लाखौं लाख सुत्केरी भत्ता राज्यकोषबाट लिएको खबर सुनिन्थ्यो । नानीदेखिको बानी भने झैँ यो रोग आज संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गर्दा पनि गएको रहेनछ भन्ने पुष्टि भएको छ । मुलुक र जनताप्रतिको दायित्व एवं राजनीतिमा नैतिकता भन्ने चिज समाप्त भएपछि यस्ता खबर सुनिरहनुपर्छ । पञ्चायतकै अनि संवैधानिक राजतन्त्रमा मुलुक हुँदाका विकृति आज गणतन्त्रमा आउँदा पनि दाहोरिरहनु कुनै पनि अर्थमा सुखद् एवं मुलुक बन्ने संकेत हुँदै होइन । जतिबेलासम्म जनप्रतिनिधिमा जनता र देशप्रति दायित्वबोध हुँदैन, त्यतिबेलासम्म मुलुक बन्दैन ।
गणतन्त्रमा समेत पटक–पटक सांसद भइसकेका नेताबाटै घर भएरपनि घरभाडा बुझ्ने मनोदशाबाट नेपालका माननीयहरु ग्रसित छन् भन्दा लाज भन्ने चिज पनि आफै लज्जित हुने अवस्था सिर्जना भएको छ । मुलुकलाई सुशासन र समृद्विको दिशातर्फ उन्मुख गराउलान् भन्ने आशा भएका माननीय नै यसमा दोषी पाइएपछि उनीहरुबाट मुलुकले कति आश गर्ने या नगर्ने सोचनीय बिषय बन्न पुगेको छ ।
राजधानीमा घर भएका ३० जना सांसद्हरू संसद् सचिवालयबाट घर नभएको सांसद्ले मात्रै पाउने घरभाडाको सुविधा महिनावारी रुपमा लिने गरेको खबर सार्वजनिक भयो । यस्ता सांसद्हरूमा समाजमा धनाढ्य भनेर चिनिएकादेखि उद्योगी, व्यापारी र दलका चर्चित नेतासम्म छन् । सांसद्ले पाउने मासिक पारिश्रमिक र सुविधाको सूची विश्लेषण गर्दा ३० जना सांसद्ले काठमाडौंमा घर भए पनि नभएको भनेर सुविधा लिने गरेको समाचार सार्वजनिक भयो । सचिवालयले हरेक महिना घरभाडा बापत पाउने पैसा पारिश्रमिकसँगै उनीहरूको बैंक खातामा पठाइदिने गर्छ । सचिवालयको प्रक्रिया अनुसार कुनै पनि सांसदले राजधानीमा घर भए र नभएको उल्लेख गरेपछि आवाश सुविधा उपलब्ध गराउने र नगराउने निर्णय हुन्छ । यसका लागि सचिवालयले उपलब्ध गराएको फारममा घर भए र नभएको खुलाउनुपर्ने हुन्छ ।
यो खवरले माननीयहरुको सांस्कृतिक चिन्तको स्तर कति दरिद्र छ भन्ने प्रष्ट हुन्छ । यो सरासर राज्यकोषमाथिको लुट हो । सांसदहरु भित्र भित्रै कति स्खलित छन् भन्ने जीवन्त प्रमाण पनि यहि हो । यति संकीर्ण एवं लोभी माननीबाट मुलुकका लागि, जनताका लागि केही हुन्छ भनेर आशा गर्नु बेकारप्राय नै छ । यो निर्लज्जताको पराकाष्टा हो । लोकलाज हराएपछि सांसद जस्ता व्यक्ति समेत आर्थिक रुपमा कति गिर्छन् भन्ने दृष्टान्तका लागि घरभाडा प्रकरण काफी छ । अझैपनि कही कतै माननीयहरुमा नैतिकतको लेस बाँकी छ भने जनतासँग माफी माग्नुपर्छ अनि अहिलेसम्म सांसद सचिवालयमा झुट विवरण पेश गरेर खाइपाई आएको सुविधा फिर्ता गर्नुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies