२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कतारका प्रस्तावित राजदूतलाई श्रमिकका समस्याको जिम्मा

Nada
२०८१ भदौ १८ गते २२:१४
Shares
कतारका प्रस्तावित राजदूतलाई श्रमिकका समस्याको जिम्मा

काठमाडौं : सांसदहरुले कतार र इरानका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेललाई कतारमा रहेका श्रमिकको समस्या समाधानलाई पहिलो प्राथमिकता दिन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको संयुक्त बैठकमा पौडेलसँग सांसदहरुले श्रमिकहरुको समस्या बढिरहेको भन्दै समाधानमा जोड दिन सुझाव दिएका हुन् ।

ncell

जवाफमा  पौडेलले कतारमा रहेका नेपालीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । ‘कतारमा रहेका श्रमिकहरु समस्यामा छन्, घरेलु कामदारमा गएका महिलाको समस्या उस्तै छ,’ उनले भने, ‘यी समस्या न्यूनीकरण गर्दै बीमाको व्यवस्था गर्न लागिपर्ने छु ।’ तोकिएको जिम्मेवारी पूरा गर्दै मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गर्ने उनले जानकारी दिए । ‘नेपालमा कतारको लगानी भित्र्याउन पहल गर्ने छु,’ उनले भने ।

समितिको सभापति इश्वरीदेवी न्यौपानेले नेपालसँग कतार र इरानबीचको सम्बन्ध विस्तारमा देशका प्रतिनिधिको हैसियतले राजदूतको भूमिका महत्वपूर्ण हुने बताइन् । सांसद महेशकुमार बर्तौलाले कतारमा रहेका श्रमिकहरुले श्रम सम्झौता भएबमोजिम सुविधा पाए नपाएको अध्ययन गरेर समस्या समाधान गर्न पौडेललाई सुझाव दिए । ‘चार लाख नेपाली कतारमा श्रमका लागि गएका छन्, कतिले समस्या भोगिरहेका छन् । उनीहरुको समस्या समाधान पहिलो प्रथामिकतामा राख्नुस्,’ उनले भने । 

अर्का सांसद लीलानाथ श्रेष्ठले कतारमा मृत्युवरण गर्ने नेपाली श्रमिकको शवसमेत नेपाल ल्याउन गाह्रो भएकाले उक्त समस्या समाधान गर्नुपर्ने सुझाव दिए । सांसद जगप्रसाद शर्माले तेल र ग्याँसबाट कतार, इरान धनी भइरहेकाले त्यहाँको सिकाइ र प्रविधि मुलुकमा भित्र्याउन सके अर्थतन्त्रमा सुधार ल्याउन सहयोग पुग्ने बताए । सांसद ज्ञानेन्द्रबहादुर कार्की, इश्वरी घर्ती, श्यामप्रसाद घिमिरेले कतारमा देखिएको श्रम समस्या समाधान, लगानी भित्र्याउन पहल, स्वदेशी वस्तु निर्यात प्रवर्द्धनका लागि पहल गर्नुपर्ने सुझाव दिए ।

ताजा खबर

सम्बन्धित खबर