
काठमाडौँ : वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवका अनुसार ३५ दिनभित्र विभाग वा प्रहरीको सम्पर्कमा नआएका फरार व्यक्तिहरूको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिनेछ ।
वैदेशिक रोजगार विभागले गत कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्दै ठगीसम्बन्धी मुद्दामा फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो । तोकिएको अवधिमा उपस्थित नभए बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने विभागले जनाएको थियो ।
मन्त्री यादवका अनुसार विभागले फरार व्यक्तिहरूको विवरण संकलन गरी आगामी मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाउने तयारी गरेको छ ।
यस कदमबाट वैदेशिक रोजगारीका नाममा ठगी गरी फरार हुने व्यक्तिहरूको आर्थिक कारोबार नियन्त्रण गर्नुका साथै उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।