
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग आईतवारबाट खुलाउने तयारी गरिएको छ । त्रिशूली नदीको कटानका कारण सडक चर्किएर भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन ब्याक कटिङ, ग्रेड कटिङ तथा माटो हटाउने काम भइरहेको हो ।
आज साँझसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । नागढुंगा–नौबिसे–मुग्लिङ सडक आयोजना, पूर्वी खण्डका आयोजना प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडकको सतह दबिएको प्रारम्भिक अनुमान छ । हिजोसम्म कुनै समस्या नदेखिएको सडक अहिले चर्किएपछि तत्काल यातायात सञ्चालन गर्न ब्याक कटिङको काम थालिएको उनले बताए ।
अधिकारीकाअनुसार सडक करिब ८० मिटर चर्किएको छ । चर्किएको भागको दुवैतर्फ थप ४०–४० मिटर विस्तार गरी सडकको ग्रेड र मोड मिलाउनुपर्ने भएकाले करिब १६० मिटर लम्बाइमा काम भइरहेको छ । सडक खुलाउने काममा १० वटाभन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएको आयोजनाले जनाएको छ ।
६ वटा एक्स्काभेटरसहित लोडर र टिप्पर परिचालन गरी कटिङको काम भइरहेको छ । ठेकेदार, परामर्शदाता र आयोजना कार्यालयका प्राविधिक तथा अन्य कर्मचारी कार्यस्थलमा खटिएका छन् । स्थानीय तह, वडा कार्यालय, इलाका वन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम अघि बढाइएको अधिकारीले बताए ।
यता, निर्माण व्यवसायी शहदेव खड्काकाअनुसार सडक खुलाउन हेभी इक्विपमेन्ट र करिब १० वटा टिप्पर परिचालन गरिएका छन् । मेसिन, टिप्पर र इन्जिनियरसहित करिब ७० देखि ८० जना जनशक्ति परिचालन गरेर बिहानैदेखि काम भइरहेको उनले जानकारी दिए । हिजैदेखि काम गर्ने तयारी भएपनि ग्यास बुलेट लिकेजका कारण काम अघि बढाउन कठिनाइ भएको खड्काले बताए । अहिले शाखा सडकको मर्मतसम्भारसँगै ब्याक कटिङ, ग्रेड कटिङ र माटो हटाउने काम भइरहेको उनको भनाइ छ ।
निर्माण व्यवसायी खड्काकाअनुसार मौसम अनुकूल रहेमा छिट्टै यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि रातिभर जेनेरेटरको सहायताले फ्लडलाइट जडान गरी कामलाई निरन्तरता दिइएको छ । ब्याक कटिङ र माटो हटाउने कामपछि सबग्रेड तथा सबबेस निर्माण गरेर सडकलाई यातायात सञ्चालनयोग्य बनाउने योजना रहेको उनले बताए ।