
काठमाडौँ : मंगलवार दिउँसो काठमाडौँ उपत्यकामा एक्कासी असिनासहित भारी वर्षा भएको छ । केही समय निरन्तर परेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ ।
भारी वर्षाका कारण काठमाडौँका मुख्य सडक तथा तल्लो भेगका विभिन्न स्थानमा पानी जमेको छ । एक्कासि आएको भीषण वर्षाले सडकमा पानीको बहाव बढ्दा सवारीसाधनको आवतजावतमा समेत कठिनाइ भएको छ ।
वर्षाका कारण पैदल यात्रुले समेत सास्ती व्यहोर्नुपरेको छ। केही स्थानमा ढल निकास प्रभावकारी नहुँदा सडक जलमग्न भएको देखिएको छ ।
यसैबीच, ट्राफिक प्रहरीले सडकमा पानीको सतह बढेका स्थानमा उच्च सतर्कता अपनाउन तथा सवारीसाधनको गति नियन्त्रणमा राख्न चालकहरूलाई आग्रह गरेको छ ।