
काठमाडौं : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का पूर्वअध्यक्ष नवराज कुँवर एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् । इन्डोनेसियाको जकार्तामा हालै सम्पन्न असोसियोको ४२औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२७-२८ कार्यकालका लागि सो पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
कुँवरले यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै असोसियोमा सन् २०२२ देखि उपाध्यक्षको भूमिका निभाउँदै आएका थिए भने २०२२-२०२४ र २०२५-२०२६ मा उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उपाध्यक्षमा पुनः निर्वाचित भएपछि कुँवरले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो प्रयासलाई थप ऊर्जा मिलेको बताए ।
कुँवरले भने, 'सूचना प्रविधि क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयास गरिरहेको छु । असोसियोमार्फत एसियाली देशहरूमा मजबुत प्रविधि प्रणाली बनाएर नेपाललाई विश्व आइसिटी क्षेत्रमा स्थान दिलाउन सकिन्छ, जसले नवप्रवर्तन, वृद्धि र अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवसरहरू खोल्नेछ । साथै, यसले एसियाका विकासशील र अविकसित देशहरूबीचको दूरीलाई पनि घटाउन मद्दत गर्ने विश्वास लिएको छु ।'
नयाँ कार्यसमितिमा पिकमको प्रतिनिधित्व गर्दै मलेसियाका अध्यक्ष स्टान सिंह-जितको पुन: नेतृत्वमा नेपाल, मलेसिया, थाइल्यान्ड, मकाउ, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, ताइवान, इन्डोनेसिया, लाओस, सिंगापुर र फिलिपिन्सका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संगठनका प्रतिनिधिहरू निर्वाचित भएका छन् ।
क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले कुँवरको नेतृत्वमा विश्वसामु नेपाली सूचना प्रविधि क्षेत्र र संस्थाहरूलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेलिएकाले नै सर्वसम्मत निर्वाचित हुने वातावरण सिर्जना भएको बताए । उनले आगामी कार्यकालमा पनि कुँवरबाट उल्लेख्य योगदान पुग्ने र नेपालले त्यसबाट लाभ प्राप्त गर्ने विश्वास व्यक्त गर्दै बधाई दिए ।
'असोसियोमा उहाँको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवं सूचना तथा सञ्चार प्रविधि मार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मद्दत पुग्ने हाम्रो विश्वास रहेको छ,' महासचिव भुर्तेलले भने ।