२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छु : सभामुख अर्याल

Nada
२०८३ असोज १७ गते १३:३८
Shares
सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छु : सभामुख अर्याल

काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताएका छन् ।

ncell

शनिवार ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले सम्पदा, संस्कृति, मठमन्दिर तथा भाषाको संरक्षणका लागि राज्यले आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताए । अग्रजहरूले छाडेर गएका सम्पदा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।

मुलुक निर्माणमा नेवारी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले स्थानीय समुदायबाट प्राप्त सुझाव र समस्यालाई कानून निर्माण गर्ने तहसम्म पुर्‍याउन आफूले पहल गर्ने बताए । देशको माटो र संस्कृतिसँग नेवारी तथा थारु समुदायको गहिरो सम्बन्ध रहेको उनको भनाइ थियो ।

सभामुख अर्यालले ललितपुरसँग आफ्नो व्यक्तिगत सम्बन्धसमेत रहेको बताए । धादिङमा जन्मिए पनि काठमाडौं आएपछि केही वर्ष पाटनढोकामा बसेको स्मरण गर्दै उनले ललितपुरको माया र स्थानीयको विश्वासका कारण व्यवस्थापिकाको नेतृत्व गर्ने जिम्मेवारी पाएको बताए ।

सम्पदा, संस्कृति र मठमन्दिर संरक्षणका लागि आवश्यक कानून निर्माणमा आफू स्थानीय समुदायको सुझावअनुसार अघि बढ्ने उनको भनाइ थियो । आफूलाई सामान्य नागरिकका रूपमा प्रस्तुत गर्दै उनले स्थानीयका दुःख–सुख र आवश्यकताबारे प्रत्यक्ष संवाद गर्न आफू सधैँ तयार रहेको बताए ।

सभामुख अर्यालले ललितपुरको नेवारी संस्कृति र खानाप्रति आफ्नो रुचिसमेत रहेको बताए । संग्रहालय तथा सम्पदा अवलोकनसँगै नेवारी परिकारको स्वाद लिन पनि ललितपुर पुग्नुपर्ने उनको भनाइ थियो ।

ताजा खबर

सम्बन्धित खबर