
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको तयारी पूरा भएको छ । देशभरबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको छ । १८ असोजमा उद्घाटन हुने महाधिवेशनपूर्वका सबै तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ ।
महाधिवेशन उद्घाटन खुलामञ्चमा गरिनेछ भने राष्ट्रिय सभा र भृकुटीमण्डपस्थित हल तथा पार्कसमेत चार दिनसम्म कांग्रेसले उपयोग गर्नेछ । देशभरका १६५ निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्थाअनुसार सबै क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । त्यस्तै भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र पार्टी केन्द्रीय समितिले मनोनयन गर्नेसमेत गरी करिब सात हजार महाधिवेशन प्रतिनिधि हुने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताए ।
निर्वाचनका लागि उम्मेदवारहरूले असोज १९ गते सोमबार मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । महाधिवेशन उद्घाटन सत्रमा शुभकामना दिनका लागि कांग्रेसले सबै राजनीतिक दलहरूलाई निम्ता दिइसकेको छ । महाधिवेशनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिहरूले सम्बोधन गर्ने पक्का भएको छ । सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेसहित अन्य दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ । महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने तय भएको प्रवक्ता देवराज चालिसेले बताए ।
उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन समारोहमा सहभागी हुने निश्चित भएको छ ।
अन्तर्राष्ट्रिय अतिथिहरूमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेको उनले बताए । अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता सुनिश्चित हुने क्रम जारी रहेको उनले बताए ।
आचारसंहितामा कडाइ
कांग्रेसले महाधिवेशन विभिन्न पदमा उम्मेदवार हुनेहरूलाई कडा आचारसंहितामा बनाएको छ । राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै कडा आचारसंहिता बनाएको केन्द्रीय निर्वाचन समितिको सदस्यसचिव राजु कटुवालले बताए । उम्मेदवारको आचार संहितामा तडकभडक र भड्किलो प्रचारप्रसारमा पूर्ण रोक लगाएको छ । त्यस्तै प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण रूपमा बन्द गर्ने नियम छ ।
महाधिवेशनस्थल बाहिर प्रचार–प्रसार गर्न नपाइने र डिजिटल तथा प्रविधिमैत्री प्रचारप्रसार मात्र अनुमति दिने कांग्रेसले आचारसंहिता बनाएको हो । आचारसंहिताको पूर्ण पालना गरी विपद्को घडीमा देश र जनताप्रतिको दायित्व बोध गर्दै १५औं महाधिवेशनलाई अनुशासित, मर्यादित र भव्य रूपमा सम्पन्न गराउन सम्पूर्ण नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई अपिल गरेको छ । निर्वाचन आचारसंहिताको उल्लंघन भएमा नियमानुसार कारबाही हुने चेतावनीसमेत दिएको छ ।
विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानलाई पूर्ण रूपमा निषेध गरिएको पार्टी प्रवक्ता चालिसेले बताए । महाधिवेशनस्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको छ । महाधिवेशनस्थलको बाहिरी परिसर, सार्वजनिक सडक वा आसपासका क्षेत्रमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्री राख्न वा प्रदर्शन गर्नसमेत सख्त मनाही गरिएको छ । त्यस्तै, उम्मेदवारले आफ्ना एजेन्डा र उम्मेदवारीसम्बन्धी विवरण केवल डिजिटल माध्यम (सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यम)बाट मात्र सम्प्रेषण गर्नेगरी आचारसंहिता निर्माण गरिएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।