२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

कांग्रेस महाधिवेशन : काभ्रे-२ मा निर्वाचन प्रक्रिया रोकिएको भन्दै उम्मेदवारद्वारा उजुरी

विधानअनुसार मतदान गराउन माग

Nada
२०८३ असोज १४ गते १३:३७
Shares
कांग्रेस महाधिवेशन : काभ्रे-२ मा निर्वाचन प्रक्रिया रोकिएको भन्दै उम्मेदवारद्वारा उजुरी

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा निर्वाचन प्रक्रिया पूरा नगरी केही व्यक्तिको सहमतिलाई ‘सर्वसम्मति’ भन्दै निर्वाचित घोषणा गरिएको विषयमा असन्तुष्ट उम्मेदवारहरूले औपचारिक उजुरी दर्ता गराएका छन् । उनीहरूले रोकिएको बाँकी निर्वाचन प्रक्रिया पार्टीको विधान र निर्वाचनसम्बन्धी व्यवस्थाअनुसार निष्पक्ष, पारदर्शी तथा सहभागितामूलक रूपमा सम्पन्न गर्न माग गरेका छन् ।

ncell

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा दर्ता नं. ३७९–२०८३/६/१४ मा दर्ता भएको निवेदनमा निर्वाचन प्रक्रिया सुरु भइसकेपछि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता तथा उम्मेदवारी शुल्कसमेत संकलन गरिएको अवस्थामा मतदान प्रक्रिया अघि नबढाइएको विषयप्रति गम्भीर असहमति जनाइएको छ । निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा मतदानको चरणमा नपुगी केही व्यक्तिहरूबीचको सहमतिलाई मात्र सर्वसम्मतिको संज्ञा दिँदै निर्वाचित घोषणा गर्नु लोकतान्त्रिक निर्वाचन पद्धति र उम्मेदवारहरूको अधिकारमाथि प्रश्न उठाउने विषय भएको निवेदनमा उल्लेख छ । आकांक्षी उम्मेदवारहरूले यस्तो कदमप्रति असहमति र खेद व्यक्त गर्दै जिल्ला निर्वाचन समितिमार्फत रोकिएको बाँकी निर्वाचन प्रक्रिया विधानअनुसार सम्पन्न गर्न जोडदार माग गरेका छन् ।

सर्वसम्मति लोकतान्त्रिक अभ्यासको सुन्दर पक्ष भए पनि त्यसको आधार पारदर्शिता, सहभागिता र विधिसम्मत प्रक्रिया हुनुपर्ने उम्मेदवारहरूको भनाइ छ। निर्वाचन प्रक्रिया सुरु गरेर उम्मेदवारी दर्ता र शुल्कसमेत संकलन गरिसकेपछि मतदानको चरणमा नपुगी गरिएको भनिएको सहमतिले उम्मेदवारहरूको अधिकार, कार्यकर्ताको विश्वास र पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न खडा गरेको उनीहरूले उल्लेख गरेका छन् ।

उक्त निवेदनमा महाधिवेशन प्रतिनिधिका खुला, जनजाति, खसआर्य, दलित, महिला, युवा, श्रमिकलगायत विभिन्न समूह तथा पदका उम्मेदवारहरूले नाम, पद र सम्पर्क नम्बरसहित हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेहरूमा प्रकाश थापा, जयकुमार लामा, निराजन लुइँटेल, महेशराज पौडेल, विजय गौतम, रितेन ढकाल, अनिता बजगाईं, उद्धवप्रसाद नेपाल र सहदेव तिमल्सिना लगायत धेरै  महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीले अवलम्बन गरेको लोकतान्त्रिक मूल्य, विधि र संस्थागत संस्कारको परीक्षण पनि हो । निर्वाचन प्रक्रियासम्बन्धी विवादलाई निष्पक्ष रूपमा सम्बोधन गर्नु र सम्बन्धित सबै पक्षको अधिकार तथा सहभागिताको सम्मान गर्नु पार्टीभित्रको विश्वास कायम राख्न महत्त्वपूर्ण मानिन्छ ।

काभ्रे-२ मा उठेको विवादको निष्पक्ष निरूपण गर्दै रोकिएको निर्वाचन प्रक्रिया विधानअनुसार अघि बढाउन सम्बन्धित निर्वाचन निकायले आवश्यक निर्णय लिनुपर्ने माग उम्मेदवारहरूले गरेका छन् । यस विषयमा जिल्ला निर्वाचन समिति वा केन्द्रीय निर्वाचन कार्यालयको आधिकारिक प्रतिक्रिया तथा निर्णय प्राप्त भएपछि घटनाक्रम थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर