
काठमाडौं : सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका सांसद राजकुमार शर्माले आफ्नो पद रिक्त गर्ने निर्णयविरुद्ध दायर गरेको रिट खारेज गरेको छ ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गर्दै यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो ।
शर्माको रिट खारेज भएसँगै प्रदेशसभा सचिवालयले उनको सांसद पद रिक्त गर्ने गरी गरेको निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ ।
तत्कालीन नेकपा माओवादीबाट कर्णाली प्रदेशसभा सदस्य निर्वाचित शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रचारप्रसारमा संलग्न भएको आरोप लगाउँदै नेपाली कम्युनिस्ट पार्टीले उनको सांसद पद रिक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा प्रदेशसभा सचिवालयले शर्माको पद रिक्त गर्ने निर्णय गरेको थियो ।
पार्टीको सिफारिसमा आफ्नो सांसद पद गुमेपछि शर्मा उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चको पछिल्लो आदेशसँगै प्रदेशसभा सचिवालयको निर्णय कार्यान्वयनका लागि कानुनी अवरोध हटेको छ ।