
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरणलाई लिएर बालेन शाह नेतृत्वको सरकारको आलोचना गरेका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले राणा पक्राउको प्रक्रियामाथि प्रश्न उठाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र बालेन नेतृत्वको सरकारबीच फरक नदेखिएको टिप्पणी गरे ।
‘भ्रष्टाचारीलाई पक्राउ गर्नका लागि मापदण्ड होला । यदि पूर्वप्रधानन्यायाधीश दोषी नै हुन् भने किन छाडेको ? निर्दोष भए राति ३ बजे किन पक्राउ गरेको?’ शाहीले प्रश्न गरे, ‘यस्ता गतिविधिले हिजोको केपी ओलीको र बालेनको सरकारबीच केही पनि फरक हुँदैन ।’
अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको भए प्रश्न उठाउने ठाउँ नरहने उनको भनाइ थियो । उनले व्यक्तिगत इगो साँध्न राज्यसत्ताको दुरुपयोग भइरहेको आरोपसमेत लगाए ।
शाहीले दुर्गा प्रसाईंको पक्राउको विषय पनि उठाउँदै सहकारी ठगी प्रकरणमा जीबी राईलाई पक्राउ गर्नुपर्ने धारणा राखे । उनका अनुसार सहकारी पीडित नेपाली जनताले अझै करिब ९ अर्ब रुपैयाँ पाउन बाँकी छ ।
त्यस्तै, फोरजी, एनसेल तथा निर्मला पन्त प्रकरणमा सरकारले गठन भएको ६ महिना बितिसक्दा पनि कारबाही प्रक्रिया अघि बढाउन नसकेको शाहीले आरोप लगाए ।
उनले आफूहरूले दिएको सुझाव सरकार र सत्तारूढ दलका कार्यकर्तालाई मन नपर्न सक्ने बताए। तर, प्रतिपक्षका रूपमा आफूहरूले शुभचिन्तकको हैसियतमा सुझाव दिइरहेको उनको भनाइ थियो ।
‘यसरी नै व्यक्तिगत स्वार्थ साँध्दै गयो, राज्यसत्तालाई दुरुपयोग गर्दै गयो भने तिनै जनता भोलि सडकमा आउन बाध्य हुन्छन्,’ शाहीले चेतावनी दिए ।