
पोखरा : प्रिमियम मोटरसाइकल ब्राण्ड सिएफमोटोले पोखरामा नयाँ थ्री एस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्टस्को आउटलेट सञ्चालनमा ल्याएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमको प्रमुख आतिथ्य तथा वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाको विशेष आतिथ्यमा शनिबार आउटलेटको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा सिएफमोटो नेपालका प्रतिनिधि, डिलर तथा व्यावसायिक साझेदार, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी र मोटरसाइकलप्रेमीहरूको उपस्थिति थियो । प्रमुख अतिथि गौतमले युवाहरु मिलेर सिएफमोटो ले पोखरामा आउटलेट सञ्चालन गरेको भन्दै खुशी व्यक्त गरिन् ।
सिएफमोटो नेपालका अधिकृत वितरक रिशी ट्रेड सेन्टरले आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने क्रममा पोखरामा थ्री एस आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ आउटलेटबाट पोखरा तथा आसपासका ग्राहकले सिएफमोटो मोटरसाइकलको बिक्री, आधिकारिक सर्भिस तथा जेन्युन स्पेयर पार्टस् एकै स्थानबाट प्राप्त गर्न सक्नेछन् ।

पोखरा गण्डकी प्रदेशको प्रमुख व्यावसायिक तथा पर्यटन केन्द्र हुनुका साथै हिमाली तथा उच्च पहाडी क्षेत्रतर्फ मोटरसाइकल यात्राका लागि महत्वपूर्ण प्रवेशद्वार भएकाले यहाँ थ्री एस आउटलेट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । विशेषगरी दुर्गम तथा हिमाली क्षेत्रमा यात्रा गर्ने सिएफमोटो राइडरलाई बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स तथा प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीको भनाइ छ ।
नयाँ आउटलेटबाट ग्राहकले टेस्ट राइड, मोटरसाइकल खरिद, नियमित सर्भिसिङ, प्राविधिक जाँच, जेन्युन स्पेयर पार्टस् तथा अफ्टर सेल्स सपोर्ट प्राप्त गर्न सक्नेछन् ।
आउटलेटका सञ्चालक इन्जिनियर महेश श्रेष्ठका अनुसार सिएफमोटो का नेपाली बजारमा उपलब्ध लोकप्रिय मोडलमा २५० ड्युल इएफआइ, ४५० एम टी, ४५० सिएलसि, ४५० सिएलसि बोब्बर र ४५० एस आर एस लगायत रहेका छन् । कम्पनीले विशेषगरी एड्भेन्चर तथा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो बजार विस्तार गर्दै आएको छ ।
आउटलेट उद्घाटनको अवसरमा कम्पनीले ग्राहकका लागि विशेष अफरसमेत सार्वजनिक गरेको छ । उद्घाटनकै दिन ८ वटा मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरिएको थियो । अफरअन्तर्गत सिएफमोटो मोटरसाइकल खरिदमा २० हजार रुपैयाँसम्म नगद छुट, निःशुल्क हेल्मेट तथा ह्यान्डगार्ड उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

त्यस्तै, २५० ड्युल मोडलमा पाँच वर्षको इन्जिन वारेन्टी तथा फाइनान्समार्फत मोटरसाइकल खरिद गर्दा न्यूनतम ४० प्रतिशत भुक्तानी गरेर मोटरसाइकल लिन सकिने व्यवस्था गरिएको छ ।
सञ्चालक श्रेष्ठ का अनुसार पोखरा तथा गण्डकी प्रदेशका ग्राहकलाई सिएफमोटोका मोटरसाइकलसँगै भरपर्दो बिक्रीपछिको सेवा र प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले नयाँ आउटलेट सञ्चालनमा ल्याइएको हो ।
सिएफमोटो नेपालले आगामी दिनमा देशका प्रमुख शहरमा सेल्स सर्भिस र स्पेयर पार्टस्को नेटवर्क थप विस्तार गर्दै ग्राहकको पहुँच र सेवा गुणस्तरलाई प्राथमिकता दिने जनाएको छ ।