
क्वालालम्पुर : भोटेकोशीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट घरवारविहीनहरूको उद्धार तथा राहतका लागि मलेसियामा सेक्युरिटी गार्डको काममा कार्यरत नेपालीहरूले ४ लाख बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।
मलेसियाको स्पेसल स्वाड सेक्युरिटी टिममा कार्यरत नेपालीहरूले ४ लाख ५ हजार १६१ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
उक्त कम्पनीका म्यानेजरसमेत रहेका प्रवासी नेपाली सम्पर्क विभाग, मलेसियाका केन्द्रीय सदस्य कमल चन्दको सक्रियतामा उक्त रकम संकलन भएको बताइएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उठाउने अभियानमा कम्पनी सञ्चालक दाता निक्सनले पनि ५ सय रिंगेट प्रदान गरेका छन् ।
अभियानकर्ता चन्दले निक्सनप्रति आभार व्यक्त गर्दै विदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिमा नेपालीहरूले देखाएको एकता, सद्भाव र मानवीय भावना प्रशंसनीय रहेको भन्दै नेपालीहरूको पनि सराहना गरेका छन् ।