२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

श्रमिकको अधिकार र सुरक्षाबारे सचेतना फैलाउँदै जेद्दा महावाणिज्यदूतावास

Nada
अन्जान गुभाजु
२०८३ भदौ ७ गते २०:५९
Shares
श्रमिकको अधिकार र सुरक्षाबारे सचेतना फैलाउँदै जेद्दा महावाणिज्यदूतावास

जेद्दा : जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले नेपाली श्रमिकको हकहित, अधिकार र सुरक्षालाई प्राथमिकतामा राख्दै कार्यस्थल तथा श्रमिकको बसोबास क्षेत्रमै पुगेर सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ । महावाणिज्यदूतावासको आयोजनामा शुक्रबार, २१ अगस्ट २०२६ मा जेद्दास्थित अल–खुम्रा (ग्विजेन) क्षेत्रमा कार्यरत नेपाली श्रमिक तथा स्थानीय नेपाली समुदायका अगुवाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । 

ncell

श्रमिकहरूलाई उनीहरूकै कार्यस्थल तथा बसोबास क्षेत्रमै पुगेर प्रत्यक्ष रूपमा संवाद गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रतिनिधि, स्थानीय सामाजिक संस्थाका पदाधिकारी तथा ठूलो संख्यामा नेपाली श्रमिकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा साउदी श्रम कानुन, रोजगार सम्झौता, श्रमिकका हक–अधिकार, कर्तव्य तथा कानुनी प्रावधानबारे जानकारी प्रदान गरिएको थियो । 

महावाणिज्यदूतावासले साउदी अरबमा श्रमिकका लागि महत्वपूर्ण मानिने ‘अब्सेर’ र ‘किवा’ जस्ता डिजिटल प्रणालीको प्रयोग, अनलाइन सेवाको उपयोग तथा त्यसबाट प्राप्त हुने सुविधाबारे समेत व्यावहारिक जानकारी दिएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कोषको महत्व, दर्ता प्रक्रिया तथा उपलब्ध सुविधाबारे पनि सहभागीलाई जानकारी गराइएको थियो ।

कार्यक्रमलाई केवल जानकारी दिने औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी श्रमिकका वास्तविक समस्या सुन्ने र समाधानका लागि आवश्यक सहजीकरण गर्ने अन्तरक्रियात्मक मञ्चका रूपमा अघि बढाइएको थियो । सहभागी श्रमिकहरूले कार्यस्थल तथा वैदेशिक रोजगारीका क्रममा भोगेका समस्या, जिज्ञासा र अनुभवहरू प्रत्यक्ष रूपमा राखेका थिए । ती प्रश्न तथा समस्यामाथि महावाणिज्यदूतावासका प्रतिनिधिहरूले आवश्यक परामर्श तथा प्रक्रियागत जानकारी प्रदान गरेका थिए ।

कार्यक्रममा स्थानीय नेपाली समुदायका अगुवाहरूको भूमिकालाई समेत विशेष महत्व दिइएको थियो । श्रमिकले भोग्ने सामान्य समस्या स्थानीय स्तरमै पहिचान गरी आवश्यक समन्वय र सहजीकरणमार्फत समाधानतर्फ लैजान समुदायका अगुवाहरू सक्रिय हुनुपर्नेमा जोड दिइएको थियो ।

श्रमिकसम्म सेवा र सूचना पु¥याउने आफ्नो प्रयासलाई महावाणिज्यदूतावासले डिजिटल माध्यममार्फत पनि निरन्तरता दिँदै आएको छ । राहदानी, कन्सुलर सेवा, वैदेशिक रोजगारी तथा अन्य समस्या वा गुनासोका सम्बन्धमा महावाणिज्यदूतावास, जेद्दाको आधिकारिक ह्वाट्सएप नम्बर ०५३१२५४०९९ मा सम्पर्क तथा सन्देश गर्न सकिने जनाइएको छ ।

महावाणिज्यदूतावासको कार्यालय भिल्ला नं. ३३, कुत्न बिन हारिथाह सडक, अल मुहम्मदिया जिल्ला (१), जेद्दा, साउदी अरबमा रहेको छ ।

कार्यस्थलमै पुगेर नेपाली श्रमिकका समस्या सुन्ने, अधिकारबारे जानकारी दिने र आवश्यक सेवामा पहुँच सहज बनाउने महावाणिज्यदूतावासको यस्तो पहललाई साउदी अरबमा कार्यरत नेपाली श्रमिकको हितमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर