
रौतहट : निर्धारित समयभन्दा करिब दुई महिना ढिलो गरी रौतहटको गरुडा नगरपालिकाको १५औँ नगरसभा अधिवेशन तथा १०औँ बजेट अधिवेशन सम्पन्न भएको छ ।
गरुडा नगरपालिका कार्यालयको सभाहलमा नगरप्रमुख कन्थमनि प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेस गर्नुपर्ने व्यवस्था भए पनि जनप्रतिनिधिबीच देखिएको आन्तरिक विवादका कारण गरुडामा निर्धारित समयमा नगरसभा हुन सकेको थिएन ।
नगरसभामा उपप्रमुख पुनम कुमारी चौधरीले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । नगरपालिकाले चालु आर्थिक वर्षका लागि कुल ८५ करोड ३७ लाख ८५ हजार ९ सय ९९ रुपैयाँ ६० पैसाको बजेट प्रस्तुत गरेको छ ।
प्रस्तावित बजेटमध्ये ३२ करोड १९ लाख ५ हजार रुपैयाँ पुँजीगत खर्च र ५३ करोड १८ लाख ८१ हजार रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ ।
नगरपालिकाको अनुमानित आयतर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त, विशेष तथा समपूरक अनुदानलगायतबाट रकम प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँड र स्थानीय राजस्व तथा आन्तरिक आयलाई समेत बजेटको स्रोतमा समेटिएको छ ।
नगरप्रमुख जयसवालले नगरसभाबाट विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक विकास तथा नगरवासीका आवश्यकता र मागलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए ।
नगरसभामा वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्ष, नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत उपसचिव नाथु साह, इन्जिनियर नागेन्द्र राय यादव, विभिन्न शाखाका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
लामो समयदेखि बजेट पारित हुन नसक्दा नगरपालिकाका नियमित विकास तथा सेवा प्रवाहका काम प्रभावित हुँदै आएका थिए । ढिलै भए पनि नगरसभा सम्पन्न भई नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएपछि गरुडाका विकास निर्माण र सेवा प्रवाहका कामले गति लिने अपेक्षा गरिएको छ ।