
काठमाडौं : जापानको आइची–नागोयामा २०औं एसियाली खेलकुद सुरु हुन अब एक महिना मात्र बाँकी छ । सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने एसियाडका लागि नेपालले आफ्नो टोलीको अन्तिम स्वरूप तय गरिसकेको छ । यसपटक नेपाल २२ खेलमा १३७ खेलाडी लिएर एसियाडको मैदानमा उत्रिँदै छ । टोलीमा ८० पुरुष र ५६ महिला खेलाडी छन् । खेलाडीबाहेक ३२ प्रशिक्षकसहित १६८ जना जापान जानेछन् ।
एक वर्षअघि प्रारम्भिक रूपमा नेपालले ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता गराएको थियो । त्यसपछि खेल र खेलाडीको संख्या लगातार घट्दै गयो । केही खेल छनोट, कोटा, तयारी र बजेटका कारण अन्तिम सूचीमा परेनन् । अन्ततः २२ खेल र १३७ खेलाडीमा नेपालको सहभागिता सीमित भएको छ ।
सरकार र नेपाल ओलम्पिक कमिटीबीचको पुरानो विवाद, खेलको सूचीमा देखिएको अन्योल, ई–स्पोर्ट्सका खेलाडी छनोट भएर पनि अन्तिम टोलीमा पर्न नसक्नु र नेपालको सबैभन्दा सफल खेलमध्ये एक तेक्वान्दोको खुम्चिएको सहभागिताले पनि यसपटकको एसियाडमा खेलाडीको संख्या घटेको हो ।
अर्कोतर्फ कराते, कबड्डी, बक्सिङ, उसु र क्रिकेटमा नेपालको आशा बलियो बनेको छ । विदेशमा प्रशिक्षण, काठमाडौंमा बन्द प्रशिक्षण र ‘मिसन २०२६’ अन्तर्गत गरिएको विशेष तयारीले नेपालले यसपटक विगतभन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
टिम खेलतर्फ नेपालले पुरुष क्रिकेट, महिला भलिबल तथा पुरुष र महिला कबड्डीमा सहभागिता जनाउनेछ । बाँकी १९ खेल व्यक्तिगत विधाका छन् ।
सबैभन्दा धेरै खेलाडी कबड्डीमा छन् । महिला र पुरुष दुवै टोलीमा १२–१२ गरी २४ खेलाडी छन् । पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ खेलाडी छन् ।
एसियाली खेलकुदको इतिहासमा नेपालले हालसम्म तीन रजत र २३ कास्यसहित कुल २६ पदक जितेको छ । नेपालले हालसम्म एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सकेको छैन । यसपटक भने पहिलो स्वर्णसहित दोहोरो अंकको पदक जित्ने लक्ष्य नेपालको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रामचरित्र मेहताले आगामी एसियाली खेलकुदलाई लक्षित गर्दै नेपालको तयारी तीव्र रूपमा अघि बढिरहेको बताए । उनले २२ वटा खेलका लागि कुल १३७ जना खेलाडी अन्तिम रूपमा छनोट भइसकेको जानकारी दिए ।
मेहताका अनुसार सुरुमा १३६ जना खेलाडीको नामावली सार्वजनिक गरिएको थियो । तर, तेक्वान्दो खेलमा वाइल्ड कार्डमार्फत थप एक खेलाडी समावेश भएपछि संख्या १३७ पुगेको हो । यी खेलाडीलाई दुई चरणमा क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिइँदै आएको उनले जानकारी दिए ।
एसियाली खेलकुद नजिकिँदै जाँदा सरकार तथा राष्ट्रिय खेलकुद परिषद्ले तयारीलाई अझ गम्भीर र व्यवस्थित बनाउँदै सम्पूर्ण प्रक्रिया तीव्र गतिमा अघि बढाएको सदस्य–सचिव मेहताले बताए ।
सदस्य–सचिव मेहताले मध्यान्हसँग भने, ‘एसियाडमा सहभागी हुने सबै खेलाडीको सबै व्यवस्था सरकारले गरेको छ, प्रतियोगिता नजिकिँदै जाँदा हामीले तयारीलाई अझ गम्भीर र व्यवस्थित बनाएका छौं, सम्पूर्ण प्रक्रिया तीव्र गतिमा अघि बढाएका छौं ।’
किन घटे खेलाडी ?
सन् २०२५मै एसियाडका लागि नेपालले पठाउने खेलको सूचीलाई लिएर सरकार र नेपाल ओलम्पिक कमिटीबीच मतभेद देखिएको थियो । सरकारी पक्ष र एनओसीबाट फरक–फरक खेल समेटिएका सूची बाहिर आएपछि नेपालको एसियाड सहभागितामै प्रश्न उठेको थियो ।
कुन खेललाई प्राथमिकता दिने ? कुन खेलमा पदकको सम्भावना छ ? कुन खेलाडीलाई जापान पठाउने ? सहभागिताको अन्तिम निर्णय कसले गर्ने ? यी प्रश्नमा देखिएको असमझदारीले खेलाडीको तयारीलाई पनि प्रभावित पार्ने चिन्ता व्यक्त भएको थियो । तर, पछि राखेप र एनओसीबीच समन्वय गरेर एसियाडको तयारी अघि बढाउने सहमति बनेको थियो । सहमतिपछि प्रारम्भिक सूचीमा ३२ खेलमा ४३४ खेलाडीको नाम एसियाड खेल्ने सूचीमा समावेश गरिएको थियो ।
एक वर्षअघि प्रारम्भिक सूचीमा करिब ४३४ खेलाडी समावेश गरिए पनि अन्तिम सूचीमा संख्या घटेर १३७मा सीमित हुनुको कारणबारे राखेपका सदस्य–सचिव मेहताले नयाँ छनोट प्रणाली जिम्मेवार रहेको बताए । उनका अनुसार यसपटक खेलाडी छनोट प्रक्रिया अघिल्लोभन्दा फरक र वैज्ञानिक ढंगले गरिएको छ, जसमा क्वालिफाइङ मापदण्ड, र्याकिंङ र प्रतिस्पर्धात्मक छनोटलाई प्राथमिकता दिइएको छ ।
‘पहिलाजस्तो केवल सिफारिसका आधारमा होइन, अहिले योग्यताको आधारमा छनोट गरिएको छ,’ उनले भने, ‘त्यसैले प्रारम्भिक ठुलो सूचीबाट योग्य खेलाडी छनोट हुँदै अन्तिम सूची सानो भएको हो ।’
विवाद र तयारी कमजोर भएकाले खेलाडी संख्या घटाइएको नभई कडा छनोट प्रक्रियाका कारण योग्य खेलाडी मात्र अन्तिम सूचीमा परेको मेहताको दाबी छ । उनका अनुसार प्रारम्भिक रूपमा सयौं खेलाडीको नाम आए पनि विभिन्न चरण पार गरेर अन्ततः उत्कृष्ट खेलाडीहरू मात्र छनोट गरिएको हो । मेहताले समग्र तयारी सुदृढ रहेको र यसपटक एसियाली खेलकुदमा नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
कस्तो छ प्रशिक्षण ?
एसियाडमा सहभागी हुने २२ खेलका खेलाडी सबै एउटै ठाउँमा प्रशिक्षण गरिरहेका छैनन् । केही काठमाडौंमा बन्द प्रशिक्षणमा छन् भने केही खेलका खेलाडीलाई भारत, थाइल्यान्ड, चीनलगायत देशमा प्रशिक्षण र प्रतियोगिताका अवसर दिइएको छ ।
नेपालमै रहेका खेलाडीलाई भने राखेपले काठमाडौंमा बन्द प्रशिक्षणमा राखेको छ । साउन १८ गतेदेखि एसियाडका लागि बन्द प्रशिक्षण सुरु गरिएको हो । यसबाट नेपालले यसपटक तयारीमा केही सुधार गरेको देखिएको छ ।
तर, सबै खेलको तयारी एउटै स्तरको छैन । कुनै खेलका खेलाडीले महिनौं विदेशमा प्रशिक्षणको अवसर पाएका छन् । कुनै खेलका खेलाडी भने नेपालमै तयारी गरिरहेका छन् ।
राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले आगामी एसियाडलाई लक्षित गर्दै नेपाली टोलीको तयारी तीव्र रूपमा अघि बढिरहेको बताए । हाल टोलीसँग करिब २५ देखि २८ दिनको तयारी समय बाँकी रहेको उनले जानकारी दिए ।
विष्टका अनुसार सबै खेलाडी गम्भीरतापूर्वक प्रशिक्षणमा जुटिरहेका छन् । केही खेलाडी देशभित्र प्रशिक्षण गरिरहेका छन् भने धेरै खेलाडी विदेशमा रहेका छन् । उनले करिब ८५ जना खेलाडीले विदेशमा प्रशिक्षण गरिरहेको बताए ।
विष्टले मध्यान्हसँग भने, ‘यसपालि हामी सबैजना गम्भीरतापूर्वक लागिराखेका छौं, नयाँ इतिहास रच्ने लक्ष्यसहित सबै खेलाडी एकजुट भएर लागिपरेका छन् ।’
विष्टका अनुसार कबड्डी र बक्सिङ टोली भारतमा प्रशिक्षणरत छन् भने गल्फ खेलाडी अमेरिका, भारत र थाइल्यान्डमा अभ्यास गरिरहेका छन् । यस्तै, र्याफ्टिङ तथा क्यानोइङ टोली जापान र थाइल्यान्डमा छन् भने कुस्ती टोली भारतमै प्रशिक्षणमा रहेको विष्टले बताए । साइक्लिङका एक खेलाडी क्यानाडामा अभ्यास गरिरहेका छन् भने टेबल टेनिस टोली कोरियामा तयारीमा जुटेको छ । अन्य केही खेलका खेलाडी पनि चाँडै जापान प्रस्थान गर्ने तयारीमा रहेका छन् ।
विष्टका अनुसार यसपटक सम्पूर्ण टोलीलाई एउटै होटलमा राखेर नयाँ अभ्यास सुरु गरिएको छ । साथै खेलाडीको बिमा, स्वास्थ्य सेवा, मनोरञ्जन, मोटिभेसन तथा मनोवैज्ञानिक कक्षा सञ्चालन गरिएको छ, जसले खेलाडीको समग्र प्रदर्शन सुधार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
‘मिसन २०२६’ : स्वर्णको सपना
सन् २०२३मा भएको हाङझाउ एसियाड सकिएपछि नेपालले अर्को एसियाडलाई लक्षित गरेर विशेष तयारीलाई अगाडि बढायो । यही तयारीलाई ‘मिसन २०२६’ नाम दिइयो । लक्ष्य थियो– एसियाडमा स्वर्ण जित्ने र पदक संख्या दोहोरो अंकमा पुर्याउने ।
मिसनअन्तर्गत कराते, बक्सिङ, उसु, तेक्वान्दो, एथलेटिक्स, जुडो, कुस्ती, कबड्डी, महिला भलिबल, गल्फलगायत खेलका खेलाडीलाई विशेष प्रशिक्षणमा राखिएको थियो । विभिन्न चरणमा खेल थपिँदै गए । एउटा चरणमा ९९ खेलाडी र २२ प्रशिक्षक विशेष प्रशिक्षणमा सहभागी हुने व्यवस्था गरिएको थियो ।
मिसन २०२६को उद्देश्य सामान्य प्रशिक्षणभन्दा फरक थियो । सम्भावना भएका खेलाडीलाई लामो समयसम्म विशेष तयारी गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाउने र एसियाली स्तरको प्रतिस्पर्धाका लागि तयार पार्ने भनिएको थियो । सोहीअनुसार खेलाडीले प्रशिक्षण गरेको राष्ट्रिय टिम तयारीका निर्देशक विष्टले जानकारी दिए ।
‘मिसन २०२६’ अन्तर्गत १० वटा खेल र एक पारा खेल गरी कुल ११ खेलमा तीन वर्षदेखि निरन्तर तयारी गरिएको उनले बताए । यस अवधिमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर टोलीले सकारात्मक नतिजा हासिल गरेको उनको भनाइ छ । उक्त नतिजालाई आधार मान्दै यसपटक अझ राम्रो प्रदर्शन गर्ने आत्मविश्वास टोलीमा रहेको विष्टले उल्लेख गरे ।
उनले भने, ‘मिसन २०२६मा हामीले निरन्तर तीन वर्ष तयारी गरेका छौं, त्यसले गर्दा बीचमा भएका धेरै टुर्नामेन्टमा हामीले राम्रो नतिजा हासिल गर्यौं । त्यो नतिजालाई हेरेर एसियाडमा राम्रो नतिजा ल्याउन सक्छौं भन्ने हाम्रो विश्वास छ ।’
एरिकाबाट स्वर्णको आशा
हाङझाउमा नेपालको झन्डा उचाल्ने सबैभन्दा चर्चित खेलाडी थिइन्– एरिका गुरुङ । करातेको महिला ६८ केजीमाथिको कुमितेमा रजत जितेर एरिकाले नेपाली खेलकुदमा नयाँ आशा जगाइन् ।
नेपालले हाङझाउमा दुई पदक जित्दा एउटा एरिकाको रजत थियो । अर्को महिला कबड्डीको कास्य । त्यसैले नागोयामा पनि नेपालको सबैभन्दा ठुलो आशा करातेतर्फ छ ।
यसपटक करातेबाट आठ खेलाडी सहभागी हुँदै छन् । राकेश मानन्धर, मीनबहादुर गुरुङ, तेन्जिङ शेर्पा, निरुपमा दोङ तामाङ, एरिका गुरुङ, सानुमाया थिङ, एलिसा रास्कोटी मगर र मेघा लिम्बू टोलीमा छन् ।
एरिकाका लागि भने यसपटकको एसियाड फरक हुनेछ । हाङझाउमा उनी नयाँ खेलाडी थिइन् । नागोयामा उनीसँग पदकको अपेक्षा हुनेछ । अघिल्लोपटक जितेको रजतलाई स्वर्णमा बदल्ने चुनौती उनको अगाडि छ ।
कास्य जोगाउने चुनौती
हाङझाउमा महिला कबड्डीले कास्य जित्दा नेपालमा ठुलो उत्साह थियो । यसपटक नेपालले महिला मात्र होइन, पुरुष कबड्डी टोली पनि एसियाडमा पठाउँदै छ । कुल २४ खेलाडी छन् ।
महिला टोलीमा अघिल्लो एसियाडको अनुभव भएका खेलाडी छन् । पुरुष टोलीका लागि भने एसियाडको ठुलो मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसर हो । कबड्डीका खेलाडीलाई भारतमा प्रशिक्षणको अवसर दिइएको छ ।
भारत विश्वकै बलियो कबड्डी शक्ति हो । त्यसैले त्यहाँको प्रशिक्षण नेपाली टोलीका लागि उपयोगी मानिएको छ । तर, अभ्यास र प्रतियोगिताको दबाब फरक हुन्छ । नेपालले कबड्डीमा पदकको आशा गर्नुको कारण अघिल्लो प्रदर्शन हो । तर, एसियाडको स्तरमा एउटा पदक जोगाउनु पनि सजिलो काम भने होइन ।
खुम्चिँदै तेक्वान्दो
कुनै समय तेक्वान्दो नेपाली खेलकुदको पहिचानकै रूपमा स्थापित थियो । अन्तर्राष्ट्रिय मञ्चमा सफलता दिलाउने प्रमुख खेलका रूपमा यसको नाम अग्रपंक्तिमा आउँथ्यो, र यस खेलका खेलाडी पनि निकै चर्चित र प्रभावशाली मानिन्थे ।
ओलम्पिकसम्म पुग्ने संगिना वैद्य र दीपक विष्टदेखि विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालको पहिलो पदक दिलाउने विधान लामा तथा एसियाडमा ऐतिहासिक रजत जित्ने सविता राजभण्डारीसम्मका खेलाडीले नेपाली तेक्वान्दोलाई उचाइमा पुर्याएका थिए । दीपक विष्टले एसियाडमा लगातार दुईपटक पदक जितेका थिए । तेक्वान्दो भन्नासाथ नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय सफलता र चर्चित खेलाडीको लामो सूची सम्झिन्छ । तर, पछिल्लो समय गर्विलो इतिहास बोकेको तेक्वान्दो खुम्चिँदै गएको छ । पछिल्ला एसियाडमा तेक्वान्दोबाट पदक आउन सकेको छैन ।
यसपटकको एसियाडमा तेक्वान्दोबाट नेपालको सहभागिता अझै सानो छ । तेक्वान्दोबाट तीन खेलाडीले मात्र एसियाडमा सहभागिता जनाउँदै छन् । नेपालले सिधै छनोट नभई वरीयता र वाइल्ड कार्डको आधारमा मात्र अवसर पाएको हो । जसमा फाइट विधामा एक मात्र खेलाडी अभिषेक बराल छन् भने पुम्सेमा पुरुषतर्फ युवराज राना र महिलातर्फ स्वस्तिका तामाङ छन् ।
क्रिकेटमा आशा
नेपालको क्रिकेट अहिले अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धेरै चर्चा पाउने खेल हो । एसियाडका लागि पुरुष क्रिकेट टोलीमा १५ खेलाडी छन् । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सन्दीप लामिछाने, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल टोलीमा छन् ।
क्रिकेट टोलीको तयारी अन्य खेलको तुलनामा फरक छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर खेलिरहेको नेपाली टोलीले एसियाडअघि पनि विदेशमा प्रतियोगिता र अभ्यास खेलको अवसर पाउनेछ । यही कारण क्रिकेटलाई पदकको सम्भावना भएको टिम गेमका रूपमा हेरिएको छ । तर, क्रिकेटमा पनि दक्षिण एसियाली र एसियाली बलिया टोलीसँगको प्रतिस्पर्धा चुनौतीपूर्ण हुनेछ ।
ई–स्पोर्ट्स किन परेन ?
यसपटकको एसियाड तयारीमा सबैभन्दा धेरै चर्चा पाएको विवादमध्ये एउटा ई–स्पोर्ट्स हो । नेपाली ई–स्पोट्र्स खेलाडीले एसियाडका लागि छनोट प्रतियोगिता पार गरेका थिए । तर, अन्तिम नेपाली टोलीमा ई–स्पोर्ट्स परेन ।
गत जुन १३ देखि २१ सम्म भियतनाममा भएको छनोट प्रतियोगितामा सातौं स्थान हासिल गर्दै नेपाली टोलीले एसियाडमा आफ्नो स्थान सुरक्षित गरेको थियो । टोलीमा समिर कोस्टेल्लो (जेयो), रोहित तामाङ (जोर्डी), दीपेश गुरुङ (डेल्टा एक्स), सौरभ तामाङ (टिएमजी–८) र सोनु कार्की (बाइबाइ)जस्ता प्रतिभाशाली खेलाडी थिए । यसअघि चीनमा भएको १९औं एसियाडमा पाँचौं स्थान हासिल गरेको यो टोली यसपटक पदक जित्ने लक्ष्य र दह्रो विश्वासका साथ तयारीमा जुटेको थियो ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ई–स्पोर्ट्स एसोसिएसन र राखेपमा दर्ता भएको ई–स्पोर्ट्स एसोसिएसन अफ नेपालबीचको अस्तित्वको लडाइँले खेलाडीको एसियाड सपना नै टुंग्याइदियो । ई–स्पोर्ट्स एसोसिएसन अफ नेपालले पठाएको प्रारम्भिक सूचीमा वास्तविक छनोट भएका खेलाडीको नाम नहुनु र संघबीच समन्वय नहुनु नै यसको प्रमुख कारक बन्यो । खेलकुद मन्त्रालयले समयमै खेलाडी दर्ता नभएको दाबी गरिरहँदा नेपाल ई–स्पोर्ट्स एसोसिएसनले भने सरकारले आफूहरूको कुरा नसुनेको र आफैं दर्ता गर्न जाँदा पनि बेवास्ता गरिएको आरोप लगाएको छ ।
राखेपका अनुसार प्रारम्भिक नामावली तयार गर्दा आधिकारिक रूपमा दर्ता रहेको ई–स्पोर्ट्स संघसँग समन्वय गरेर खेलाडीको नाम समावेश गरिएको थियो । पछि अर्को संस्था नेपाल ई–स्पोर्ट्स संघले पनि गतिविधि गरिरहेको जानकारी पाएपछि राखेपले समन्वयका लागि पत्राचार गरेको थियो । निर्धारित समयभित्र आवश्यक प्रक्रिया पूरा नभएको र सम्बन्धित आधिकारिक संघबाट सिफारिस भएका खेलाडी छनोट हुन नसकेको जानकारी आएपछि ई–स्पोर्ट्स टोली सहभागी हुन नसकेको राखेपको भनाइ छ ।