२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

आजदेखि म्यानपावरबाट कामदार पठाउने कार्य ठप्प

Nada
२०८३ भदौ १ गते ०७:४५
Shares
आजदेखि म्यानपावरबाट कामदार पठाउने कार्य ठप्प

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबारदेखि वैदेशिक रोजगारीमा श्रमिकको उडान नगराउन व्यवसायीहरूलाई आह्वान गरेको छ ।

ncell

संघले आइतबार इजाजतवाला संस्थाहरूका नाममा आह्वानपत्र जारी गर्दै उक्त आग्रह गरेको हो । संघले गत साउन ७ गते सम्पन्न बृहत् व्यवसायी भेलाको म्यान्डेट तथा सोहीअनुसार साउन २२ गते पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको चरणबद्ध संघर्षका कार्यक्रमबमोजिम यसअघि पूर्व तथा अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्दै श्रम स्वीकृति भएका श्रमिकको उडानका लागि दिइएको समयसीमा आइतबार साँझ समाप्त भएको बताएको छ ।

संघले भनेको छ, ‘भदौ १ गतेदेखि देशभरका मुख्य तथा शाखा कार्यालयहरू समेत बन्द गरी वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द गर्न गराउन सम्पूर्ण इजाजतवाला संस्थाहरूलाई सूचित गरिन्छ ।’

संघले अघि बढाएको संघर्ष कुनै व्यक्ति, समूह वा तत्कालीन लाभ–हानिको विषय नभई व्यवसायीको पेशागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको बताएको छ ।

समस्या समाधानका लागि सरकार, मन्त्रालय, विभाग तथा सम्बन्धित निकायसँग संवाद, समन्वय र वार्ताका ढोकाहरू खुला राख्दै निरन्तर पहल भइरहेको भन्दै संघले समस्या समाधानका लागि निरन्तर प्रयासरत रहने बताएको छ । तर, जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म संघर्ष फिर्ता वा स्थगित नगरिने संघले जनाएको छ ।

संघको आह्वानका बाबजुद केही व्यवसायीले जरुरी परेको भन्दै केही श्रमिकको अन्तिम स्वीकृति लिएका छन् । उनीहरूलाई नउडाउन भन्दै संघले इजाजतवाला संस्थाहरूलाई व्यक्तिगत सुविधा, तत्कालको लाभ वा अन्य कुनै बहानामा संघको निर्णयलाई कमजोर पार्ने गरी काम–कारोबार नगर्न, नगराउन पनि आह्वान गरेको छ ।

सम्बन्धित खबर