२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

संकटका सारथी रोहित : सफल कप्तानीमा अप्रत्याशित विराम

Nada
दिवाकर अधिकारी
२०८३ साउन २७ गते ०६:२५
Shares
संकटका सारथी रोहित : सफल कप्तानीमा अप्रत्याशित विराम

काठमाडौं : मैदानमा जित–हार भइरहन्छ, कप्तान पनि समयक्रममा फेरिन्छन् । तर, केही कप्तानले टोलीलाई दिएको नेतृत्व, कठिन समयमा देखाएको साहस र देशलाई दिलाएका सफलता लामो समयसम्म सम्झनामा रहन्छन् ।

ncell

नेपाली राष्ट्रिय क्रिकेट टिमका सबैभन्दा सफल कप्तानमध्येका एक रोहितकुमार पौडेल त्यस्तै कप्तान बनेका छन् । संकटको समयमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेर नेपाली क्रिकेटलाई ऐतिहासिक सफलतातर्फ डोर्‍याएका रोहित अब कप्तानको भूमिकाबाट बाहिरिएका छन् ।

रोहितले कप्तानका रूपमा नेपाली टोलीलाई मात्र हाँकेनन्, बरु लाखौं नेपालीको मनमा नयाँ आशा र विश्वास पनि जगाए । उनको नेतृत्वमा नेपालले विश्वका शक्तिशाली टोलीहरूसँग खेल्ने मौका पनि पायो । कप्तानीको यो जिम्मेवारीबाट बाहिरिँदा पनि उनी नेपाली क्रिकेटप्रेमीका लागि सधैं ‘लिडर’ नै रहनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी मेन्स प्रिमियर कपको टोली घोषणा गर्ने क्रममा रोहितको स्थानमा सन्दीप लामिछानेलाई पुनः एकदिवसीय टोलीको कप्तान नियुक्त गरेको छ । यसअघि नै क्यानले टी–२० टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीलाई सुम्पिइसकेको हुनाले अब रोहित राष्ट्रिय टोलीको कप्तानी भूमिकाबाट बाहिरिएका छन् ।

संकटका बेला टोलीका सारथी

सन् २०२२ नोभेम्बर १४ मा युएईविरुद्धको खेलबाट रोहितले पहिलोपटक नेपाली टोलीको कप्तानी सम्हालेका थिए । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेपछि नेपाली टोली एक कठिन र अन्योलपूर्ण अवस्थामा थियो । त्यस्तो संवेदनशील समयमा मात्र २० वर्ष ७३ दिनको उमेरमा रोहितले कप्तानको जिम्मेवारी पाए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै विश्वकै दोस्रो सबैभन्दा कान्छो कप्तान बनेका थिए । उनीभन्दा अगाडि अफगानिस्तानका रासिद खान मात्र छन् ।

जब रोहित कप्तान बने, तब आइसिसी विश्वकप लिग–२मा नेपाल निकै संघर्ष गरिरहेको थियो । नेपालको एकदिवसीय मान्यता नै संकटमा थियो । तर, रोहितको उत्कृष्ट नेतृत्वमा नेपालले चामत्कारिक खेल प्रदर्शन गर्‍यो । लिग–२को अन्तिम १२ मध्ये ११ खेलमा जित निकाल्दै नेपालले सनसनीपूर्ण पुनरागमन गर्‍यो । यो असाधारण यात्राले नेपालको एकदिवसीय मान्यता मात्र जोगाएन, टोलीलाई जिम्बावेमा भएको विश्वकप क्वालिफायरसम्म पुर्‍यायो ।

करिब चार वर्षको अवधिमा रोहितको कप्तानीमा नेपालले क्रिकेट मैदानमा अनेकौं ऐतिहासिक कीर्तिमानी रच्यो । रोहितकै कप्तानीमा नेपालले सन् २०२३मा पहिलोपटक एसिसी प्रिमियर कपको उपाधि जित्यो । त्यस जितसँगै नेपालले पहिलोपटक एसिया कप खेल्दै भारत र पाकिस्तानजस्ता शक्तिशाली टोलीहरूसँग खेल्ने ऐतिहासिक अवसर पाएको थियो ।

रोहितकै नेतृत्वमा नेपालले लगातार दुईपटक आइसिसी टी–२० विश्वकप खेल्यो । उनकै कप्तानीमा नेपालले पहिलोपटक आइसिसी टी–२० विश्वकप एसिया तथा इएपिए छनोटको उपाधि जितेको थियो ।

गत वर्षको सेप्टेम्बरमा रोहितकै कप्तानीमा नेपालले पहिलोपटक टेस्ट टोली वेस्ट इन्डिजविरुद्धको टी–२०आई शृंखला २–१ले जित्न सफल भयो ।

रोहित नेपालका लागि दुवै ढाँचा (एकदिवसीय र टी–२०) गरी सर्वाधिक १२२ खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन् । उनको कप्तानीमा नेपालले ६३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्यो । त्यसमध्ये नेपालले ३१ खेल जित्दा ३० खेलमा पराजय व्यहोरेको थियो । त्यसक्रममा नेपालले दुई एकदिवसीय खेल बराबरी खेल्यो ।

रोहितले ५९ टी–२० आई खेलमा टोलीको नेतृत्व गरे, जसमा नेपालले ३३ खेलमा जित र २१ खेलमा हार व्यहोर्नुपर्‍यो । नेपालले तीन टी–२०आई खेलमा अंक बाँडेको थियो ।

कप्तानीको ठुलो दबाबबीच पनि रोहितले ब्याटबाट निरन्तर योगदान दिए । उनले कप्तानका रूपमा खेलेका ६३ एकदिवसीय खेलमा १ शतक र ७ अर्धशतकसहित कुल १ हजार ५ सय रन बनाए ।

सहकर्मीको सम्मान

रोहित कप्तानीबाट बिदा भएसँगै क्यान र उनका सहकर्मी क्रिकेटरले सामाजिक सञ्जालमार्फत निकै हार्दिक र भावुक सन्देश पठाउँदै उनलाई धन्यवाद दिएका छन् ।

क्यानले रोहितलाई धन्यवाद दिँदै उनको कप्तानीमा हासिल भएका उपलब्धिलाई सम्झिएको छ । क्यानले भनेको छ, ‘राष्ट्रको आशा बोकेर जोस, समर्पण र दृढताका साथ नेपाललाई नेतृत्व गरेकोमा धन्यवाद रोहित । पुरुष राष्ट्रिय टोलीको कप्तानका रूपमा तिम्रो नेतृत्वमा हामीले महत्वपूर्ण उपलब्धि हासिल गर्‍यौं र नेपाली क्रिकेट यात्राको गर्विलो हिस्सा बनेका थुप्रै क्षण सिर्जना गर्‍यौं ।’

क्यानले रोहितको टोली, देश र क्रिकेटप्रतिको प्रतिबद्धता सधैं प्रेरणादायी रहेको उल्लेख गरेको छ । क्यानले अन्त्यमा लेखेको छ– ‘वान्स अ लिडर, अल्वेज अ लिडर’ ।

क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले रोहितको नेतृत्वले नयाँ पुस्तालाई प्रेरित गरेको बताएका छन् । उनले भनेका छन्, ‘गर्व, जोस र दृढताका साथ नेपाली क्रिकेट टोलीको नेतृत्व गरेकोमा धन्यवाद रोहित । कठिन समयहरूबीच पनि तिमीले नेपाललाई अभूतपूर्व उचाइमा पुर्‍यायौ र मैदानभित्र तथा बाहिर एउटा पुस्तालाई प्रेरित गर्‍यौ । कप्तानका रूपमा तिमीले छाडेको उपलब्धि, नेतृत्व र विरासतप्रति गर्व छ । नेपाललाई अझै तिम्रो चम्किलो योगदानको आवश्यकता रहनेछ, जसरी तिमी सधैं चम्किँदै आएका छौ ।’

रोहितकै कप्तानीमा खेलेका र अहिले पुनः ओडिआई कप्तानको जिम्मेवारी पाएका सन्दीप लामिछानेले रोहितको योगदानको कदर गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टोलीका लागि तिमीले गरेका सबै कुरा र हरेक क्षणमा हामीलाई जसरी नेतृत्व गर्‍यौ, त्यसका लागि धन्यवाद रोहित भाइ । तिम्रो योगदान, प्रतिबद्धता र उपस्थिति सधैं मूल्यवान् रहनेछ । टोली र देशका लागि तिमीबाट अझ धेरै योगदान आउनेमा म विश्वस्त छु ।’

टी–२०आई टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले रोहितको विरासतलाई स्मरण गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही यात्रा वर्षमा मापन हुन्छन्, तर केही यात्राले सदाका लागि विरासत छाड्छन् । यति कम उमेरमै उनले खेल र देशका लागि धेरै कुरा दिए । उनको योगदानलाई केवल तथ्यांक, उपाधि वा जितबाट मापन गर्न सकिँदैन । उनले लाखौं क्रिकेटप्रेमीमा जगाएको आशा र विश्वास अझ महत्वपूर्ण छ । हृदयदेखि नेतृत्व गरेकोमा र हामीलाई गर्व गर्ने यति धेरै कारण दिएकोमा धन्यवाद ।’

रोहित कप्तानीबाट हटे पनि खेलाडीका रूपमा भने टोलीमा यथावत् छन् । क्यानले एसिसी प्रिमियर कपका लागि घोषणा गरेको नेपाली टोलीमा उनी अटाएका छन् । यता, एकदिवसीय कप्तानीमा पुनः फर्किएका सन्दीपलाई भने रोहितले जसरी एकदिवसीय मान्यता जोगाउने ठुलो चुनौती छ ।

ताजा खबर

सम्बन्धित खबर