
काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले वैदेशिक रोजगार क्षेत्रमा रहेका विभिन्न समस्याबारे युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेको ध्यानाकर्षण गराएको छ । एसोसिएसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाको नेतृत्वमा गएको व्यवसायी टोलीले वैदेशिक रोजगार व्यवसायी र श्रमिकहरूको हकहित, अधिकार तथा सुरक्षाका लागि ध्यानाकर्षण गराएको हो ।
एसोसिएसनले साउदी अरेबियाको सीप परीक्षण प्रोग्राम (एसभिपी) सञ्चालन गर्ने संस्था सिलबन्दी गर्ने सरकारको कदमप्रति धन्यवाद ज्ञापन गर्दै त्यसमा संलग्न जो–कोहीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।
एसोसिएसनको ध्यानाकर्षणपछि मलेसिया रोजगारीमा कुनै पनि प्रकारको एकाधिकार वा ‘सिन्डिकेट’ लगाउन नदिने मन्त्रालयको प्रतिबद्धता स्वागतयोग्य रहेको, तर अझै केही स्वार्थी समूह एकाधिकार कायम गराउन सक्रिय रहेकाले सचेत हुनुपर्ने तथा न्यायोचित र व्यावहारिक सेवा शुल्क निर्धारण गर्नुपर्ने माग पनि एसोसिएसनले उठाएको छ ।
त्यस्तै, युएई रोजगारीमा भिएफएसको नयाँ व्यवस्था खारेज हुनुपर्नेलगायतका विषयमा सचिव डा. काफ्लेको ध्यानाकर्षण गराएको महासचिव सुमनराज पाण्डेले बताए ।
ध्यानाकर्षण पत्र बुझाउन अध्यक्ष लामा, महासचिव पाण्डेसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष भुवनसिंह गुरुङ, पूर्वमहासचिव मेघनाथ भुर्तेललगायत मन्त्रालय गएका थिए ।