२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

लिम्बुवान : क्रान्ति र प्रतिक्रान्तिको कथा

Nada
वैरागी काइला
२०८३ साउन २३ गते ०६:१०
Shares
लिम्बुवान : क्रान्ति र प्रतिक्रान्तिको कथा

मेरा बाबु खड्गबहादुर सय सालतिर जस्तो लाग्छ मलाई झापा झरेको । १९९० सालतिर इलाममा महावीरशमशेर बडाहाकिम थिए । त्यो बेलामा मेरा बाबुले दाम चढाउन आउँदा एकैचोटि विचारी पद पाउनुभएछ । अनि बल्ल लेख्न–पढ्न सिक्नुभएछ, त्यहाँका एकजना नेवारसँग । मेरा बाबु इलाम अमिनीमा सुब्बा भएपछि खरिदार पदमा रामबहादुर नेम्वाङ (सुवासचन्द्र नेम्वाङका पिता पूर्वन्यायाधीश), राइटरमा बमबहादुर सम्बाहाम्फे (पूर्वराजसभा स्थायी समिति सदस्य), डिगबहादुर लिम्बू (तुम्बापो, पछि विचारी) र चन्द्रबहादुर लिम्बू (सेर्मा) बैदारमा नियुक्त गरिएका रहेछन् । 

ncell

त्यहाँ बस्दै जाँदा उहाँले अर्को बिहे गर्नुभएछ, लावती थरकी लिम्बुनीसँग । ती ससुराचाहिँ कुनै शमशेरको कामत थियो, ऐयावारी निन्दापारि, त्यहाँ कारबारी रैछन् । त्यहाँ ती शमशेरको जग्गा पछिसम्म थियो । उनी यहाँ आउँदा खुब जुवा खेल्थे । ती बाजे त्यहाँ डाकाको आक्रमणमा परेर मरे । 

त्यही कारणले सायद मेरा बाबु मधेश आउजाउ गरेको हुनुपर्छ । र, सय सालअघि नै मधेश पसेको देखेको हुनुपर्छ, मेरा बाबुले । किनभने त्यसै समयतिर बाबुले जयपुर बुधबारेमा ढालफाँड गरेर कामत बनाएका रैछन् । अर्थात् २००० साल लाग्दा–नलाग्दै उहाँ यता आइसकेको हुनुपर्छ । किनभने २००७ सालमा त उहाँले मधेशमै बसेर कांग्रेसलाई सघाउनुभएको थियो । त्यो बेलामा उहाँसँग बन्दुकहरू थिए । उहाँले क्रान्तिका लागि बन्दुक दिनुभएको रहेछ । बुधबारेका भानुभक्त आचार्य जमदार भन्थे, ती बुढा पनि खुब सिकार खेल्थे, उनी पनि बन्दुकका सौखिन थिए । हँडियाको पूर्वपट्टि उनी, पश्चिमपट्टि हामी थियौं । विश्वयुद्धताका सिपाहीले घर फर्किंदा ल्याएका बन्दुक किनेका हुन्थे । बाबु पल्लोकिराँतको लिम्बुवानमा प्रसिद्ध र बारुद, बन्दुक, पिस्तोलका सोखिन । सिकार खेल्नमा पनि पारंगत । प्रथम र द्वितीय विश्वयुद्धबाट फर्केका पूर्वसैनिकसँग बन्दुक किनेर तिनै हातहतियार राणाशाहीविरुद्ध लड्ने क्रान्तिकारी मुक्तिसेनालाई दिएर सहयोग गरेका घटना छन् । २०११/०१२ सालसम्म सिलिगुडीमा टोटा राइफल बन्दुक त मुला बेचेजसरी जताततै पाइन्थ्यो । सडकमा बेच्न राखेको हुन्थ्यो, हामीले नै किनेर ल्याएका थियौं । अचम्म थ्यो । 

त्यही क्रममा उहाँले खुदुनाबारीको मदनपुरमा जग्गा जोड्नुभएछ । अनि २०१४ सालमा बुधबारेको जग्गा बेचेर यहाँ धुलाबारी किनेको रैछ । ३७० रुपैयाँ बिघामा त्यहाँको जग्गा बेचेर यहाँ ६६० रुपैयाँ बिघाले लिएको रे ! त्यतिबेला पैसाको भ्यालु कस्तो, जग्गाको भ्यालु कस्तो हो ? त्यसरी बुधबारेमा हाम्रो छुट्यो । त्यतिबेला सन्तवीर बडा हाकिमले सुनमाई चारआलीको बाटो फिक्कलबाट खनाउन थालिसकेका थिए । इलामको राजद्धालीको पुल बनाउन थालिसकेको थियो । 

२०१७/०१८ सालको बाढीले त्यो मदनपुरको कामत डल्लै डुबाइदियो । खोला सप्पै खेतमा पस्यो । धेरैको डुबायो होला । हामै सय बिघाभन्दा बढी थियो । अनि पर्तिर खुदुनाबारीमा जंगल फाँड्न सुरु भएपछि हामी उता गयौं र त्यता पसियो । त्यहाँ १६/१७ बिघा जग्गा थ्यो । त्यो जग्गा २०३० सालदेखि मात्र खेतीयोग्य भएको हुनुपर्छ । त्यो खेत त्यति वर्ष त्यसै बाँझियो । यता धुलाबारीमा ९६ बिघा जग्गा किनिएको रैछ । त्यसमा पैसा नपुग्दा ठुलो बाबुलाई गुहारेर यो जग्गा किनेको हो ।

हाम्रो परिवार ठुलो थियो । ६ दिदी बहिनी र आठ भाइ । जेठो डिल्लीबहादुर, माइला डिल्लीविक्रम, साइँला भूविक्रम, काइँला म भइगएँ, खन्तरे खगेन्द्रविक्रम, जन्तरे शंकरविक्रम, अन्तरे गणेशविक्रम, कान्छा मदनविक्रम हो । अरू केही बिते पनि । 

डबल सुब्बा कसरी भए ? 

उहिले पहाडमा गाउँमा लिम्बू सुब्बा हुन्थे । ऐनमा नभए पनि राजाले दिएको मोहोरमा सुब्बाहरूलाई गाउँको बन्दोबस्त गर्ने अधिकार दिइएको थियो । कानुनी अधिकार थियो, हदभन्दा मुनिको फैसला गर्ने अधिकार थियो । त्यो भनेको ९९ रुपैयाँसम्म जरिवाना गर्ने फैसला गर्ने अधिकार थियो । त्यसलाई गौडाले गर्‍यो, गौडा भनेको ३ सरकारको प्रतिनिधि संस्था । भनेको राजाकै प्रतिनिधि संस्था हो । पछि मालले सुब्बाको प्रमाणीकरण गर्ने, दर्ता गर्ने काम थाल्यो । त्यो हिसाबले गाउँको सुब्बा भो । 

अनि २००७ सालको परिवर्तनपछि २००८ साल बित्दो समयमा होला, मेरो बाबुलाई इलाम अमिनीको सुब्बा बनाइयो । यता, इलाम अमिनीको सुब्बा र गाउँको पनि सुब्बा भएका कारण मेरो बाबुलाई डबल सुब्बा भन्न थालिएको रहेछ । यसरी डबल सुब्बा भए । २०१४/०१५ सालको प्रशासनीय सुधारको प्रतिवेदनअनुसार अमिनीचाहिँ जिल्ला अदालत र सुब्बा न्यायाधीश भयो । 

रैतीको इतिहास

सत्ताबाट बाहिर भएपछि र सम्प्रभुता अर्काको हातमा परेपछि रैती भइन्छ । रैतीको इतिहास हो, त्यो । र पनि १८३१मा पृथ्वीनारायण शाहले लिम्बुवानलाई नेपाल राज्यमा अधीनस्थ गर्दा अधिकतम स्वायत्तताचाहिँ दिएको थियो । स्थानीय शासनमा अमालको अधिकार थियो । प्रशासनको अधिकार, रैती बसाउने अधिकारहरू थियो त्यसमा । ठेक्काथितिको मुलुक भन्थ्यो, घरधुरीको हिसाबले तिरो लगाएर बढेको सरकारले नखोज्ने र घटेको लिम्बूले नमाग्ने भन्ने थियो । यस्तो खालको बन्दोबस्त गरेर अधिकतम अधिकार दिइएको थियो अमाली सुब्बाहरूलाई लिम्बुवानमा । 

त्यसो गर्दा लिम्बूहरूलाई तिनको जिमिभूमिमा तिनकै स्वामित्व रहनेगरी आफ्नो कुलभाइ ठानी पृथ्वीनारायण शाहले ‘त्यो मुलुक सम्हाल गरी जिमीभूमि रहिन्जेल तिम्रा शाखा सन्तानतक भोग्य गर’ भनी धर्मपत्रको तसल्लीको मोहरस्वरूप ताम्रपत्र गरिदिएका थिए । र, लिम्बूको किपट त्यहीअन्तर्गत बँच्यो । किपट बिक्री नहुने जग्गा हो । तर, बिस्तारै परिवर्तन गर्दै किपटलाई पनि सुक्रीबिक्री हुने, राजीनामा पास गराएर अर्काको नाममा दाखिल खारेजी हुने बनाइयो । नत्र लिम्बूहरूको जग्गा सुक्रीबिक्री नहुने, अन्य जातकाले लिन चाहेमा भोगबन्दगीमा मात्र लिने र भोगबन्दगी पनि समयभित्र पैसा दिएर फिर्ता लिन पाउने व्यवस्था थियो । जसअन्तर्गत स्थानीय प्रशासनिक र न्यायिक अधिकारसहितको सुब्बांगी प्रथा प्रारम्भ भयो । प्रशासनिक र न्यायिक अधिकारसहितको सुब्बांगी प्रथामा अमाल गर्ने अधिकार सुब्बालाई वंशानुगत रूपमा प्राप्त हुँदै गयो ।

पहाडमा बस्दा अन्य जातिकाले कि त रैकर जग्गा खोजेर बस्नुपर्दथ्यो कि लिम्बूहरूको जग्गा बन्दगी लिएर बस्नुपर्ने हुन्थ्यो । त्यसरी बन्दगीमा बसेको जग्गा फिर्ता नहुन्जेल गरिखान पाइयो व्यवस्था थियो । तर बिस्तारै केन्द्र सरकारको शक्ति हातमा बलियो बन्दै जाँदा स्थानीय शक्ति न्यूनीकरण हुँदै गए । हुँदाहुँदा २०२१ सालको भूमिसुधार ऐनले सबै जग्गालाई रैकर बनाएपछि त लिम्बुवानको किपट व्यवस्था नै अन्त्य भयो । र, यसरी लिम्बूहरूको आफ्नो भूमिमाथिको अधिकार गुम्यो । यसरी लिम्बूहरूको आफ्नो राजनीतिक अधिकार भनेको भूमि व्यवस्थासम्बन्धी अधिकार र त्यसअन्तर्गत प्राप्त प्रशासनिक, कानुनी (अमालको अधिकार)हरू सबै गुम्यो । र, लिम्बूहरू अरूजस्तै भए । 

त्यो बेलामा पश्चिमको तुलनामा पूर्व अलिक उज्यालो थिएछ क्यार । बसाइँसराइले लिम्बूभन्दा बढी अरू जातिका मानिसको बसोबास बढ्दै गयो । जनसंख्याले पनि अरू जातिले थिच्दै गए । र, लिम्बूहरू साउने फागु तिरो भन्छ नि तेस्तै भए । तिरो तिर्ने रैती मात्र भए । 

अब अलिकति २००७ सालको क्रान्तिताकाको कुरा पनि गरौं कि ? २००७ सालको क्रान्तिमा पूर्वमा राई–लिम्बूले ठुलो योगदान गरेका छन् । यसरी भूमिका नखेलेको भए क्रान्तिलाई सफल बनाउन गाह्रो पर्ने थियो । त्यही भूमिकाकै कारणले मेरा बाबुले अमिनीका सुब्बा पाएका हुन् जस्तो लाग्छ । किनभने हतियार दिएका थिए कांग्रेसलाई । पछि २००८ सालमा गृहमन्त्रीको हैसियतमा बिपी कोइराला इलाम आउँदा हाम्रो हतियार फर्काइयो । ६/७ वटा हतियार थिए । त्यतिबेला एउटा धन्यवादको पत्र पनि दिइएको थियो । त्यो कतै हुनुपर्छ । 

मेरा बाबुलाई सुब्बा बनाउनुपर्ने कारण पनि त्यही हो । मुक्तिसेनामा राई–लिम्बू धेरै थिए । चानचुने सिभिल गभर्नरलाई त कसैले पनि टेर्दैनटेर्ने, लिम्बू नै चाहिने । त्यो अवस्था परेर मेरो बाबुले अमिनीको सुब्बा हुने मौका पाए । अनि विद्रोह हुँदा पनि सम्झाउने बुझाउने मान्छे चाहिएको थियो । त्यतिबेला तत्कालै ४ सरकारकी जय भन्दै राणाहरूले नै विद्रोह गराएका थिए । त्यसरी आठराईमा लिम्बू उफारेका थिए । त्यस मारमा परेर पहाडबाट कुमाई बाहुनहरू खेदिए । मेरो ठुलो बाबु (नरेन्द्रविक्रम) बाबु, काका र हाम्रोमा कति दिनसम्म त्यताबाट खेदिएर आएका मानिस शरणार्थी भएर बसेका थिए । ठुलो बाबुको अलिक बढी आम्दानी हुने भएका कारण ती मानिसलाई खुवाएर राखियो । झन्डै ६/७ सय मानिस शरणार्थी भएर आएका थिए । उनीहरूलाई १५ दिनसम्म राखिएको म सम्झन्छु । 

राणाशाहीका बेलामा किपट भूमिबाट लिम्बूहरूलाई पाखा लगाउने चालबाजी क्रमशः सुरु भयो । अनि लिम्बूहरूले पनि अफ्नो परम्परागत अधिकारका लागि संघर्ष गरे । २००७ सालको जनक्रान्तिमा लिम्बूहरूको सहभागिता बढी हुनुमा यो नै एउटा मुख्य कारण पनि थियो ।

क्रान्तिताका पूर्वाञ्चल क्षेत्रमा जनमुक्ति सेनाको कुल संख्यामध्ये झन्डै आधाजति लिम्बू थिए । क्रान्तिपछि अवसरवादीका भड्काउमा परेर केही सोझासाझा लिम्बूहरूबाट साम्प्रदायिक दंगा भड्किसकेको थियो । भड्काउमा परेका जनमुक्तिसेना र साधारण जनताबीच रक्तपातपूर्ण घटना घट्न नदिन क्रान्तिका अगुवाहरूले डबल सुब्बालाई अघि सारे ।

राणा शासनको विरुद्ध पूर्वमा राई/लिम्बूहरूले ठुलो सहभागिता जनाएका थिए । एउटै गाउँबाट १५/२० जनाका दरले मानिसहरू मुक्तिसेनामा लागेका थिए । उनीहरूमा खोसिएको आफ्नो किपटको सुरक्षा हुन्छ कि भन्ने चाहना थिएछ क्यार । तर, राणाहरूले तिमेरु भनेको ४ सरकार हो भनेर उकासेका कारण अलिअति समस्या आइपरेको हो । हामी ३ सरकार अब तिमेरु ४ सरकार भनेर उफारे । २००७ सालको परिवर्तनपछि २०११/०१२ सालसम्म पनि त्यो आवाज आइरह्यो । पूर्वी पहाडका धेरै जिल्लामा यो विद्रोह भए पनि पाँचथर जिल्लामा अलिक कम थियो । किनभने त्योभन्दा अगाडिदेखि नै त्यहाँ प्रेमराज आङदेम्बेहरू कांग्रेसमा थिए । उसको बाबु देवानलाई २००८ सालपछाडि जो स्थानीय विद्रोह भो, त्यो दबाउन राई–लिम्बूको शान्ति डोर खटाइएको थियो । उनलाई डोर खटाएर शान्ति स्थापना गर्न लगाइएको थियो । पछि राजा महेन्द्रले उनलाई मन्त्री पनि बनाए । 

प्रतिविद्रोह 

२००७ सालको क्रान्तिमा राई–लिम्बूहरूको यसरी ठुलो योगदान रहेको देखिन्छ । उता, माझकिराँतमा नारदमणि थुलुङको त्यस्तै योगदान रहेको थियो । तर, बीचमा विभिन्नखाले मान्छेहरू आउँछन्, प्रतिक्रियावादीहरू हुन्छन्, अर्को विचारधारा बोकेका मानिसहरू हुन्छन् । त्यस्ता मान्छेहरू पनि हुन्छन्, त्यस्ता मान्छेहरूले उत्पात पनि गर्छन् र गरे पनि । क्रान्तिको दौरानमा त्यस्ता मान्छे मारिए पनि । पाँचथरमै, इलाममै मारिए । इलाम चारखोलामा एकजना लिम्बू मारियो, जोरसालमा भद्रसिंह राई भन्ने मान्छे मारियो । विद्रोहमाथि प्रतिविद्रोह गर्नेहरू त्यसरी मारिए । ती मानिसहरूलाई मुक्ति सेनाले नै ठोक्यो । 

(तीर्थ सिग्देलको त्यो झापाबाट)

ताजा खबर

सम्बन्धित खबर