२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कविता : दिल र रिल

Nada
डा. राजन केसी
२०८३ साउन २३ गते ०६:००
Shares
कविता : दिल र रिल

मलाई लाग्थ्यो—
प्रेम भनेको
दुई मुटुबीचको गोप्य सम्झौता हो ।
त्यसैले त
एउटा दिल जित्न
पहाडसँग ठोक्किएँ,
नदीसँग बगेँ,
सात दिन होइन,
सयौं रात निद्रा बेचेँ ।
प्रेमका लागि
हारलाई जित सम्झिएँ,
पीडालाई पूजा बनाएँ,
आँसुलाई मुस्कानले छोपेँ ।
अन्ततः
दुई दिल एउटै धड्कन बने ।
लाग्यो,
अब संसार जितियो ।
तर...
समयले चुपचाप
एउटा नयाँ ऐना ल्यायो
त्यसको नाम थियो रिल ।
त्यस दिनदेखि
प्रेम मुटुमा कम,
स्क्रिनमा बढी बस्न थाल्यो ।
जुन आँखाले
मलाई मात्र हेथ्र्यो,
त्यही आँखाले
अब संसारलाई हेरिरहेको थियो ।
जुन मुस्कान
मेरो लागि फुल्थ्यो,
त्यो हजारौं लाइकको
कारण बन्न थाल्यो ।
म हरेक दिन
उसको मुटु पढ्न खोज्थेँ,
तर मोबाइल खोल्दा
रिल मात्र भेटिन्थ्यो ।
कमेन्टहरूमा
अरूका चाहनाहरू थिए,
इमोजीहरूमा
अरूका भावना थिए ।
त्यहीँबाट
विश्वासले प्रश्न सोध्यो,
र प्रेम पहिलोपटक
आफ्नै छायासँग डरायो ।
सायद दोष
रिलको थिएन,
दोष त त्यो समयको थियो—
जहाँ प्रेमको मूल्य
समर्पणले होइन,
भ्युजले तोक्न थाल्यो ।
आज पनि
मेरो दिल
उही ठाउँमा छ ।
तर रिल भने
हरेक दिन
नयाँ कथा सुनाइरहेछ ।
र म...
म भने
एउटा हराएको प्रेमको साक्षी बनेर,
दिल र रिलको बीचमा उभिएको
एउटा कवि मात्र हुँ ।
किनकि अन्त्यमा—
मुटुले प्रेम लेख्यो,
रिलले प्रदर्शन गर्‍यो,
दुनियाँले ताली बजायो,
तर प्रेम...
मौन भएर रोइरह्यो ।

ncell

ताजा खबर

सम्बन्धित खबर