
काठमाडौं : कुनै बेला बिलासिताको साधन मानिने गाडी अब उच्च वर्गको पहिचान मात्र रहेन, मध्यम वर्गको दैनिक जीवनको पनि एउटा हिस्सा बन्न पुगेको छ । सोख त छँदै छ, तर यो आधुनिक जीवनशैलीको सपना पनि बनेको छ ।
कुनै समय गाडी हेर्न र चढ्न पाउनु नै एउटा मिठो सपनाजस्तै हुन्थ्यो । तर, आज समय बदलिएको छ । एउटै घरमा परिवारका सदस्यपिच्छे गाडी किन्न थालिएको छ । पुस्ताअनुसार गाडीको रोजाइसमेत फरक पर्न थालेको छ । आफ्नो मनपर्ने गाडी चढ्ने सोख नेपाली समाजमा बढ्दै गएको छ । अहिले मध्यमवर्गीय परिवारका लागि कम्तीमा एउटा गाडी आवश्यकता नै बनेको छ । नेपालीको आम्दानी बढ्दै छ । सोख र आवश्यकता पनि थपिँदै छ । यस्तोमा मध्यमदेखि उच्च वर्गका परिवारमा नयाँ–नयाँ गाडीको खोजी भइरहेको छ ।
नेपालमा गाडी भित्रिएको इतिहास त्यति लामो छैन । मुस्किलले एक शताब्दीको यो अवधिमै सवारीसाधनको क्षेत्रमा ठुलो फड्को मारेको छ । इतिहास हेर्दा राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना लागि चढ्न भित्र्याएको गाडी नै पहिलो देखिन्छ । त्यतिबेला नेपालमा गाडी ल्याउँदा कलकत्ता बन्दरगाहदेखि अमलेखगन्जसम्म रेलमा र त्यसपछि भित्री पहाडी बाटोमा गुडाउँदै तथा काँधमा बोकाउँदै काठमाडौंसम्म ल्याउने गरिन्थ्यो । तर, अहिले गाडी ल्याउन कुनै झन्झट छैन । कन्टेनर बुक गर्नासाथ सिधै सोरुमसम्म गाडी आइपुग्छ ।
विगतमा पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको आयात बढी हुने गरेकोमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इभी)ले आफ्नो वर्चस्व र बजार तीव्र रूपमा विस्तार गरेको छ । आर्थिक वर्ष २०७६/७७मा एउटा मात्र विद्युतीय सवारी नेपाल भित्रिएकोमा आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा ४२ हजार २३३ वटा इभी भित्रिएका छन् । नेपालको विद्युतीय सवारीसाधनको इतिहास सुरु भएको ७ वर्षमै सडक पूर्ण रूपमा ‘इभीमय’ बनेका छन् ।
नेपालमा आयात हुने इभीको सबैभन्दा ठुलो हिस्सा चीनबाट आउने गाडीले ओगटेका छन् । अहिलेसम्म चीनबाट मात्रै २८ हजार २६४ वटा इभी भित्रिएका छन् भने भारतबाट ११ हजार ९६० वटा ल्याइएको छ । प्रतिशतका आधारमा हेर्ने हो भने नेपालमा आयात हुने कुल इभीमध्ये ६७ प्रतिशत चीनबाट र २८ प्रतिशत भारतबाट भित्रिएका छन् । त्यस्तै, थाइल्यान्डबाट ८२४, दक्षिण कोरियाबाट ७३२, इन्डोनेसियाबाट १६५, जापानबाट ७८, जर्मनीबाट ८३, अमेरिकाबाट ७३, मलेसियाबाट ५०, युकेबाट २, फ्रान्सबाट २ र अस्ट्रेलियाबाट एउटा इभी गाडी नेपाल आएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
अर्काेतर्फ, नेपालमा पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको आयात पनि निरन्तर बढ्दो क्रममै छ । पछिल्लो एक दशकमा मात्र पेट्रोलबाट चल्ने ६४ लाख ६ हजार ९४५ वटा सवारीसाधन आयात भएका छन् भने सोही अवधिमा १ करोड ४४ लाख ३४ हजार ३२७ वटा डिजेलबाट चल्ने सवारीसाधन भित्रिएका छन् । आर्थिक वर्ष २०८/८३मा मात्रै पेट्रोलबाट चल्ने गाडीले ७ लाख ५१ हजार ६४२ किलोलिटर र डिजेलबाट चल्ने गाडीले १३ लाख ९३ हजार ३३३ किलोलिटर इन्धन खपत गरेका छन् । यो तथ्यांकले के देखाउँछ भने, पेट्रोल/डिजेल र इभीको सहज प्रवेशसँगै नेपालमा आफ्नै सवारीसाधन हुने नागरिकको संख्या निरन्तर उकालो लागिरहेको छ ।
गत वर्ष मात्रै १० हजार ८४७ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए । चारपांग्रे सवारी आयातबाट सरकारले २६ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष २५ अर्ब ५६ करोड रुपैयाँबराबरका १० हजार ८४७ युनिट इभी नेपाल भित्रिएका हुन् । देशगत आधारमा हेर्दा चीनबाट सबैभन्दा बढी ७ हजार ६४८ युनिट इभी आयात भएका छन् भने दोस्रोमा भारतबाट २ हजार ३३९ युनिट र तेस्रोमा थाइल्यान्डबाट ८२४ युनिट भित्रिएका छन् ।
अटो सोमा गाडी किन्ने रौनक
सबैभन्दा ठुलो चाड दसैं–तिहार नजिकिँदै गर्दा घरमा नयाँ गाडीसमेत भित्र्याउने रहर धेरैको हुन्छ । यो समयमा एउटै छानामुनि नेपालमा भित्रिएका सबै सवारीसाधन प्रत्यक्ष हेर्ने र तिनका विशेषता बुझ्ने उत्कृष्ट अवसरका रूपमा ‘अटो सो’लाई लिइन्छ । गत वर्षजस्तै यसपालि पनि एक साताको अन्तरालमै एकै स्थानमा दुईवटा ठुला अटो सो हुँदै छन् ।
साउन २६ गतेदेखि ३१ गतेसम्म नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्दै छ भने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित ‘नाडा अटो सो’ भदौ ९ देखि १४ गतेसम्म हुँदै छ । दुवै अटो सोले समग्र अटो बजारलाई चलायमान बनाउँदै आएका छन् ।
‘मोबिलिटी एक्स्पो’मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० वटा नयाँ सवारीसाधन ‘लन्च’ हुने नाइमाले जनाएको छ । यस एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारीसाधन (कमर्सियल भेहिकल), इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी, प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित विविध स्टल रहनेछन् ।
त्यसैगरी ‘नाडा अटो सो’मा १९ वटा प्यासेन्जर भेहिकल, १० वटा दुईपांग्रे सवारीसाधन, १७ वटा लाइट कमर्सियल भेहिकल तथा ७६ वटा साना स्टलमा ४५ वटा अटो कम्पनीले सहभागिता जनाउँदै छन् ।
नाइमा र नाडा अटो सो नजिकिँदै गर्दा अटो व्यवसायीदेखि गाडीका पारखीहरूसम्म उत्साहजनक चर्चा चलिरहेको छ । व्यवसायीहरू नयाँ गाडी लन्च गर्नेदेखि प्रचारप्रसारमा व्यस्त छन् । अटो क्षेत्रका लागि यो एक महिनालाई सवारीसाधनको ‘महाकुम्भ’का रूपमा हेरिएको छ ।
नाइमा अटो सो प्लानिङ कमिटीका संयोजक गौरव शारडा गत वर्षभन्दा यो एक्स्पो अझ भव्य हुने बताउँछन् । यस वर्षको एक्स्पोलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रकै एक महत्वपूर्ण र ऐतिहासिक बनाउने गरी स्टल निर्माणदेखि नयाँ सवारी लन्चलाई प्राथमिकता दिइएको उनले बताए ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमाको दोस्रो एक्स्पोले अटो क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरिन् । एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ कम्पनीबाट सुरु गरिएको यो संस्थामा यो वर्ष ३६ कम्पनी जोडिइसकेका छन् । यसले नाइमालाई अटो व्यवसायीको साझा घर बनाउँदै लगेको र व्यवसायीमा देखिएको एकताले नागरिकमा नाइमाप्रति विश्वास बढाइरहेको उनको भनाइ छ ।
यस अटो सोले नेपालको व्यावसायिक गतिविधि विस्तार, लगानीको वातावरण निर्माण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिशीलता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको वैद्य बताउँछिन् । एक्स्पोसँगै अटो क्षेत्रसँग सम्बन्धित लर्निङ सेसन हरेक दिन पुलिस क्लबमा हुनेछ, जहाँ मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी र नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे गहन छलफल हुने नाइमाले जनाएको छ ।
लन्च हुँदै छन् ४० नयाँ सवारी
नेपाल मोबिलिटी एक्स्पो २०२६मा एकैसाथ ४० नयाँ गाडी लन्च हुँदै छन् । नाइमाका सदस्य कम्पनीहरूले चाडपर्वलाई लक्षित गरी नयाँ गाडी बिक्रीको योजना बनाइरहेको अवस्थामा नयाँ मोडलहरूलाई प्रमुख प्राथमिकता दिएका हुन् । कतिपय कम्पनीले लन्च हुने सवारीसाधनको मोडल तथा नाम सार्वजनिक गरिसकेका छन् भने कतिपयले अझै गोप्य राखेका छन् ।
एक्स्पोलाई लक्षित गरी नेपाली अटोमोबाइल बजारमा नयाँ–नयाँ ब्रान्ड र तिनका अत्याधुनिक इलेक्ट्रिक कार भित्रिँदै छन् । विशेषगरी ह्याचब्याक र क्रसओभर सेगमेन्टलाई लक्षित गर्दै विभिन्न आधिकारिक वितरकहरूले अत्याधुनिक फिचर, शक्तिशाली ब्याट्री र आकर्षक डिजाइनका नयाँ मोडल सार्वजनिक गर्दै छन् । व्यवसायीले विद्युतीय, प्लग–इन हाइब्रिड, हाइब्रिड तथा पेट्रोल एसयुभीदेखि ह्याचब्याक, पिकअप र प्रिमियम मोडलसम्मका दर्जनौं नयाँ गाडी पहिलोपटक सार्वजनिक गर्दै छन् ।
होङ्छीका दुई इभी
चीनको प्रख्यात लक्जरी ब्रान्ड ‘होङ्छी’का दुई इलेक्ट्रिक कार नाइमा एक्स्पोमा पहिलोपटक सार्वजनिक हुँदै छन् ।
विशाल ग्रुपअन्तर्गतको एड्भान्स अटोमोबाइलले होङ्छी ब्रान्डका इभी नाइमा अटो सोमा पहिलोपटक सार्वनजिक गर्दै छ । अटो सोमा होङ्छीका दुई मोडल ई–एचएस९ र ई–एचएस४ सार्वजनिक हुनेछन् । होङ्छी ई–एचएस९ लक्जरी एसयुभी हो । जसले ५४८ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ । होङ्छी चीनको फस्र्ट अटोमोबाइल वक्र्स (एफएडब्ल्यू ग्रुप)अन्तर्गत सञ्चालित छ । यसले सुरुवाती चरणमा चीनका राष्ट्रपति, उच्च सरकारी अधिकारी र राज्यका अतिथिका लागि मात्र गाडी उत्पादन गथ्र्यो । पछिल्ला वर्षहरूमा सर्वसाधारणका लागि पनि लक्जरी कार र इभी उत्पादन गर्दै आएको छ ।
निसान टेकटन
निसानको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले अल–न्यु निसान टेकटन एसयुभी नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गर्दै छ । टेकटन निसानको नयाँ प्रिमियम एसयुभी हो, जसले कम्पनीको एसयुभी लाइनअपमा महत्वपूर्ण स्थान बनाएको छ । आकर्षक डिजाइन, प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि रहेको छ । निसान पेट्रोलबाट प्रेरित टेकटनले निसानको ७५ वर्ष लामो एसयुभी नयाँ उत्पादन हो । आकर्षक बडी लाइन, मस्कुलर डिजाइन, सिग्नेचर सी–आकारका एलइडी हेडल्याम्प तथा रोड प्रेजेन्सले हुँदा नेपाली ग्राहकको रोजाइमा पुग्ने अपेक्षा गरिएको छ । सुरक्षाका दृष्टिले पनि टेकटन अत्याधुनिक प्रविधि छ । यसमा स्ट्यान्डर्ड रूपमा ६ वटा एयरब्याग, उच्च–शक्तिको स्टिल बडी स्ट्रक्चर तथा एडप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६० डिग्री क्यामेरासमेत रहेको छ । अल–न्युु निसान टेकटनलाई नजिकबाट अवलोकन गर्ने, यसका विशेषता तथा प्रविधिबारे जानकारी लिन सक्नेछन ।
आइकार भी२७
चेरी अटोमोबाइल ग्रुपको सबब्रान्ड आइकारको भी२७ एसयुभी समेत नाइमा सार्वजनिक हुँदै छ । नेपालका लागि आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ‘रफ एन्ड टफ’ अफरोड एसयुभी ल्याएइको हो । कम्पनीले आइकार भी२७ नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने छ । आइकार भी२७ इआरइभी प्रविधिमा आधारित हाइब्रिड एसयुभी हो । यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिइएको छ । साथै, ३४.३ किलोवाटको सिएटिएलको एलएफपी ब्याट्री प्याक छ । आइकार भी२७ चीनमा रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ सिस्टममा उपलब्ध छ । भी–२७ एसयुभी साइजमा पनि निकै ठुलो छ । यसको लम्बाइ ५०५५ एमएम, चौडाइ १९७६ एमएम र उचाइ १८९४ एमएम छ । यसमा २९१० एमएम लामो ह्विलबेस पाउन सकिन्छ ।
महिन्द्राको नयाँ फ्ल्यागसिप गाडी ‘एक्सइभी ९एस’
महिन्द्राले आफ्नो विद्युतीय गाडीको लन्च गर्दै छ । नाइमा मोबिलिटी एक्स्पो २०२६मा नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयुभी एक्सइभी९एस सार्वजनिक हुँदै छ । महिन्द्राको नयाँ एक्सइभी ९एस ३ पंक्तिको (थ्री–रो) सिटिङ लेआउट भएको प्रिमियम इलेक्ट्रिक एसयुभी हो । यो कम्पनीको डेडिकेटेड इन्ङ्लो इलेक्ट्रिक प्लेटफर्ममा आधारित छ । यो गाडी ५९, ७० र ७९ किलोवाट आवर (युनिट) क्षमताका ब्याट्री विकल्प उपलब्ध हुनेछन्, जसले एकपटकको चार्जमा अधिकतम करिब ६७९ किलोमिटरसम्मको रेन्ज दिन्छ । यसअघि बजारमा आइसकेका बीई६ र एक्सइभी ९ईसँगै एक्सइभी९एस पनि महिन्द्राको स्टलमा हुनेछन् ।
मोर्बिडेलीको एड्भेन्चर बाइक
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीको २५० सिसी क्षमताको नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्ससमेत नाइमा अटो सोमा सार्वजनिक हुँदै छ । वैद्य अर्गनाइजेसनले उक्त एड्भेन्चर बाइक नेपालमा ल्याएको हो । एड्भेन्चर बाइकप्रति बढ्दो आकर्षणलाई ख्याल गरी कम्पनीले यो मोडल ल्याएको हो । बजारमा मोर्बिडेलीका टी ३५२ एक्स र टी १००२ भिएक्स सुपर एड्भेन्चर उपलब्ध छन् । टी २५० एक्समा २४९.४ सिसीको सिंगल सिलिन्डर, फोर–भल्भ, एयर–कुल्ड, इएफआई इन्जिन जडान गरिएको छ । यसले ७,५०० आरपीएममा अधिकतम २२.४ हर्सपावर तथा ६,००० आरपिएममा २२.३ एनएम टर्क उत्पादन गर्छ । सिक्स–स्पिड गियरबक्ससहितको मोटरसाइकलको अधिकतम गति करिब ११५ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ ।
नेपालमै बनेको हुन्डाईको नयाँ भेन्यु
हुन्डाई मोटर्सको चर्चित सव–फोर मिटर एसयुभी भेन्युको नयाँ जेनेरेसन हाल नेपालस्थित एसेम्बलिङ प्लान्टमा तयार भइरहेको छ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भेन्युको सो नयाँ जेनेरेसनलाई नाइमा एक्स्पोमार्फत सार्वजनिक गर्दै छ । नयाँ भेन्युको बाहिरी र भित्री बनावटमा पनि धेरै परिवर्तन गरिएको छ, जसमा अगाडि र पछाडिको भागमा नयाँ एलइडी लाइटिङ, नयाँ डिजाइनको १६ इन्च ह्विल, थ्री–स्पोक स्टेरिङ ह्विल र परिमार्जित सेन्टर कन्सोल रहेका छन् । नयाँ भेन्युमा ३६० डिग्री क्यामेरा, अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक, फ्रन्ट पार्किङ सेन्सर, ड्राइभ तथा ट्रयाक्सन मोड र विन्डो सनसेडजस्ता आधुनिक फिचर थपिएका छन् ।
आरफक्स टी१, चेरी क्युक्यु३, लिपमोटर बी०३, बुलिङ बिंगो
लक्ष्मी ई–मोबिलिटीले आर्कफक्स टी१ एक प्रिमियम क्रसओभर/ह्याचब्याक मोडल नाइमा सार्वजनिक गर्दै छ । आकर्षक आधुनिक लुक्स र प्रिमियम फिचरका साथ आउन लागेको यो इभीले युवा तथा प्रिमियम ह्याचब्याक पारखीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
यस्तै, पायोनियर मोटोकर्पले चेरी क्युक्यु३ इभी नाइमा मै सार्वजनिक गर्दै छ । ९० किलोवाट क्षमताको रियर–ह्विल ड्राइभ मोटर र ४१.२ किलोवाट आवरको ब्याट्री क्षमता छ । सांग्र्रिला मोटर्सले लिपमोटर बी०३ मुख्य गरी दुईवटा ब्याट्री भेरियन्ट—३९.८ किलोवाट आवर र ५३ किलोवाट आवरमा ल्याउँदै छ । बजेट र इन्ट्री–लेभल सेगमेन्टमा लोकप्रिय रहेको बुलिङ बिंगोले नयाँ अपग्रेड गरिएका लाइटर प्रो भेरियन्टमा गाडीहरू लन्च गर्दै छ ।
यसरी नाइमा अटो सोमा नयाँ गाडीको लहर नै लाग्ने देखिन्छ । त्यसमा पनि विद्युतीय सवारीसाधनको संख्या धेरै छ । एक्स्पोले नेपालका सडकमा इभीमय बनाउनेगरी बजार विस्तार गर्ने देखिन्छ ।
प्राथमिकतामा इभी
नेपालमा आयात हुने सवारीसाधनमा विद्युतीय सवारीको संख्या उल्लेखनीय छ । भन्सारमा छुटदेखि इभी किन्दा डाउन पेमेन्टमा सहजताका कारण समेत इभीमा ग्राहक परिवर्तन भएका छन् । केही वर्षअघि विद्युतीय सवारीसाधनलाई भरपर्दाे सवारीसाधनका रूपमा हेर्ने गरिन्थ्यो । तर, अहिले इभीले नेपाली बजार नै कब्जा गर्दै गएको छ ।
सरकारले देशको यातायात प्रणालीलाई आधुनिक, एकीकृत, सुरक्षित र दिगो बनाउने उद्देश्यले ‘राष्ट्रिय यातायात नीति २०८३’ सार्वजनिक गरेको छ । नयाँ यातायात नीतिले आगामी दशकका लागि नेपालको यातायात पूर्वाधार र सेवाको प्रस्ट मार्गचित्र तयार पारेको दाबी सरकारी अधिकारीहरूको छ । नयाँ यातायात नीतिले सडक सुरक्षा, विद्युतीय सवारीको प्रवर्धन, मास ट्रान्जिट, बहुआयामिक यातायात प्रणाली र लगानीलाई एकीकृत रूपमा राखेर सम्बोधन गर्ने प्रयास गरेको छ । जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न र नेपालको स्वच्छ ऊर्जाको खपत बढाउन सरकारले नयाँ यातायात नीतिमार्फत ‘ई–मोबिलिटी’लाई उच्च प्राथमिकतामा राखेको छ । आगामी दशकलाई विद्युतीय सवारीको दशकका रूपमा अगाडि बढाउन ‘ई–मोबिलिटी ट्रान्जिसन रोडम्याप’ तयार पारी चरणबद्ध रूपमा निजी र सार्वजनिक सवारीलाई विद्युतीकरण गर्ने योजना सरकारको छ । लपेट्रोलियमबाट चल्ने सवारीसाधनको आयातलाई निरुत्साहित गर्दै विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीतिले समेत सवारीसाधनमा इभीले नयाँ फड्को मार्दै छ ।
धेरै आयात भएका १० ब्रान्ड
गत वर्ष आयात हुने ब्रान्ड चिनियाँ कम्पनीका सवारीसाधन नै धेरै नेपाल आयात भएका छन् । चिनियाँ ब्रान्ड बिवाइडी, एमजी, ओमोडा एन्ड जेको, डोङफेङ नामी र डिपललगायत सवारीसाधनको आयात धेरै छ । बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले सबैभन्दा धेरै गाडी आयात गरेको छ । हुन्डाई दोस्रो स्थानमा छ । हुन्डाईको इभी आयात निकै कम छ भने पेट्रोल गाडी सबैभन्दा धेरै भित्र्याइएको छ । अघिल्लो वर्ष पहिलो स्थानमा रहेको टाटा यसपालि तेस्रो स्थान छ । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको व्यापार इभीले गर्दा खस्किएको छ । शारडा ग्रुपको एसपिजी अटोमोबाइल्सले आयात गर्ने ओमोडा एन्ड जेको/आइकार चौथो स्थानमा छ । सुजुकीको ब्रेजा गाडीप्रति ग्राहकको रोजाइ बढ्दा सुजुकी पाँचौं स्थान आयात बढी गर्ने कम्पनी बनेको छ । सुजुकीको आधिकारिक बिक्रेता सिजी होल्डिङ्स हो ।
यस्तै, छैटौंमा डोङफेङको नामी, सातौंमा चांगन डिपल, आठौंमा किया छ भने एमजी नवौं स्थानमा र दसौं नम्बरमा महिन्द्रा छ ।
नेपालमा चिनियाँ, भारतीय, युरोपेली, जापानी र कोरियाली ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गरेका छन् । विद्युतीय सवारीसाधनको माग बढेसँगै नयाँ–नयाँ ब्रान्ड र मोडल भित्रिने क्रम जारी छ । त्यसैले गर्दा पुराना पेट्रोल कारको बिक्री खस्किएको देखिन्छ । पेट्रोल कार बिक्री गर्दै आएका पुराना बिक्रेता पनि इभीतिर केन्द्रित भएका छन् ।
* डिजल/पेट्रोल खपतसम्बन्धी तथ्यांक थप सम्पादनसहित ।