२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

छनोट नहुनेहरूलाई कारणसहितको जानकारी दिन विभागको निर्देशन

Nada
२०८३ साउन २२ गते ०६:२०
Shares
छनोट नहुनेहरूलाई कारणसहितको जानकारी दिन विभागको निर्देशन

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारको छनोट प्रक्रिया पूर्णरूपमा पारदर्शी बनाउन म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ ।

ncell

वैदेशिक रोजगारीमा जाने कामदारहरूको छनोटसम्बन्धी सूचना जारी गर्दै विभागले बिहीबार नेपाली भाषाको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित पूर्वस्वीकृतिको सूचनाअनुसार आवेदन दिने सबै आवेदकको नाम कम्पनीको सूचना पाटीमार्फत सार्वजनिक गर्न तथा छनोट नभएका व्यक्तिलाई छनोट नहुनुको कारणसहित जानकारी दिने व्यवस्था अनिवार्य रूपमा गर्न/गराउन निर्देशन दिएको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ मा वैदेशिक रोजगारीमा कामदार पठाउने पूर्वस्वीकृति प्राप्त भएपछि इजाजतपत्रवालाले कामदार छनोटका लागि कम्तीमा सात दिनको अवधि दिई नेपाली भाषाको राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्ने, इच्छुक कामदारको निवेदन प्राप्त भएपछि माग भई आएको कामको प्रकृतिअनुसार निवेदकको योग्यता, अनुभव तथा तोकिएबमोजिमका अन्य आधारमा कामदारको छनोट गरी छनोट भएका व्यक्तिको सूची कार्यालयको सूचना पाटीमा टाँस गर्नुपर्ने तथा सोको एक प्रति विभागसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउन सात दिनको म्याद दिई सूचना प्रकाशन गर्दा सो अवधिभित्र निवेदन दिन आउने सबै निवेदकको निवेदन लिने व्यवस्था गरी सातौं दिनपछि सबै निवेदकहरूको एकमुष्ट सूची सम्बन्धित इजाजतपत्रवाला संस्थाको वेबसाइटमा प्रकाशन गरेर मात्र छनोट प्रक्रिया सुरु गर्न तथा छनोट प्रक्रियामा सबै निवेदकलाई समावेश गराउन समेत विभागले भनेको छ ।

विभागले कानुनी व्यवस्थाबमोजिम वैदेशिक रोजगारसम्बन्धी विज्ञापन गर्दा सात दिनको म्याद दिई सूचना प्रकाशन गरे पनि वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरू प्रकाशित विज्ञापनका आधारमा निवेदन दिन जाँदा ‘कोटा सकिसकेको छ’ भन्दै अधिकांश म्यानपावर कम्पनीले फिर्ता गरी छनोट प्रक्रियाबाट वञ्चित गरेको गुनासो प्राप्त भएकाले छनोट प्रक्रियालाई पारदर्शी बनाउन यस्तो निर्देशन दिनुपरेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर