
काठमाडौं : नेपाल विद्युत प्राधिकरण ८ वर्षमा ८२ अर्ब रूपैयाँ नाफा आर्जन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो पटक प्राधिकरणको नियुक्त भएपछिका आठ वर्षमा भएको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हुन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले प्राधिकरणले पछिल्लो आठ वर्षमा ८२ अर्ब रूपैयाँ नाफा गरेको बताए । उनले भने, ‘८ वर्षअघि करिब ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको विद्युत प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा गएको छ, समग्रमा यतिबेला विद्युत् प्राधिकरण ८२ अर्ब रुपैयाँ नाफा देखिन्छ ।’
२०७३ भदौ २९ गते पहिलो पटक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । त्यस बेलामा देशमा दैनिक १४ घण्टा लोडसेडिङ थियो भने प्राधिकरण घाटामा थियो । निर्देशकको रुपमा प्राधिकरणको प्रवेशसँगै केही महिनामा काठमाडौंमा लोडसेडिङ हट्यो भने २ वर्षपछि देश लोडसेडिङ मुक्क्त भएको थियो । उनको चार वर्षे कार्यकालमा लोडसेडिङ अन्त्य गरेर ३४ अर्ब घाटामा रहेको संस्थालाई करिब ५ अर्ब सञ्चित नाफा गरेर २०७७ भदौमा पहिलो कार्यकाल सकिएको थियो ।
लोडसेडिङ अन्त्य र प्राधिकरणलाई नाफामा पुर्याएर लोकप्रिय बनेका कुलमानलाई दोस्रो पटक २०७८ साउन २५ गते पुनः चार वर्षको लागि प्राधिकरणको निर्देशकमा सरकारले नियुक्त गरेको थियो । दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको र अझै १ वर्ष कार्यकाल बाँकी हुँदा कुलमान भने डेडिकेटेड र ट्रंकलाइन महसुल विवादमा तानिएका छन् । विवादको बीचमा कुलमानले प्राधिकरण प्रवेश गरेको पछिल्लो ८ वर्षको रिपोेर्ट कार्ड सार्वजनिक गरेका छन् । दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार प्राधिकरणमा पत्रकार सम्मेलन गरेर पछिल्लो आठ वर्षमा प्राधिकरणले गरेको प्रगतिको रिपोर्ट सार्वजनिक गरेका हुन् ।
आठ वर्षमा प्राधिकरणले मारेको फड्को
पछिल्लो आठ वर्षमा नेपालमा लोडसेडिङ अन्त्यमात्र भएको छैन । नेपालबाट विद्युत निर्यात समेत हुन थालेको छ । प्राधिकरणले विद्युत निर्यातबाट गत आर्थिक वर्षमा एक अर्ब ९४ करोड युनिट विद्युत निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । वर्षायामा दैनिक ७ सय मेगावाट विद्युत निर्यात भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए । यस्तै प्राधिकरणले सुख्यायाममा भारतबाट गत अर्थिक वर्षमा एक अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड बराबरको विद्युत आयात गरेको थियो ।
गत आर्थिक वर्षमा विद्युत आयात भन्दा निर्यात बढ्दा प्राधिकरणले १३ करोडको बढी विद्युत निर्यातगरी नेपाल खुद विद्युत नियातकर्ता बनेको उनले बताए । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण त्यसयता भने निरन्तर नाफामा छ । आर्थिक वर्ष ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको जनाएको छ । यस्तै आठ वर्ष अघि ५८ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ भने विद्युत ग्राहक संख्या २९ लाख ७० हजारबाट बढेर ५० लाख ३५ हजार पुगेको उनले जानकारी दिए ।
यस्तै घिसिङले आफनो कार्यक्रमको प्रगति विवरण सुनाउँदै भने ‘नेपाल भारतबीचकोे विद्युत आयात निर्यातको लागि आठ वर्ष अघि ३ सय ५० मेगावाट विद्युत प्रवाह गर्न सक्ने प्रसारण लाईन क्षमता करिब २ हजार पुगेको छ, ८० वटा सवस्टेसनहरु बढेर १ सय ९७ पुगेको छ । विद्युत चुहाव २५ प्रतिशत भन्दा बढी हुने गरेकोमा चुहावट घटेर १२.७३ प्रतिशतमा झारिएको छ । चुहावट नियन्त्रणबाट १२ अर्ब रुपौयाँ आम्दानी भएको छ ।’ यस्तै प्रतिवर्ष विद्युत खपत आठ वर्ष अघि ३ अर्ब ७२ करोडबाट बढेर अहिले १० अर्ब २३ करोड युनिट पुगेको छ भने प्रतिव्यक्ति उर्जा खपत समेत १ सय ३१ युनिटबाट बढेर ४ सय पुगेको छ । यस्तै सो अवधिमा प्राधिकरणको सम्पति समेत बढेको छ । आठ वर्ष अघि प्राधिकरणको सम्पत्ति ३ खर्ब ११ अर्ब बराबरको रहेकामा अहिले ६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको पुगेको घिसिङले बताए ।