
काठमाडौं उपत्यकाको उत्तरी भेगमा अवस्थित ऐतिहासिक सहर टोखा मौलिक परम्परा, संस्कृति र प्राकृतिक सौन्दर्यले परिपूर्ण छ । काठमाडौं महानगरपालिकाबाट करिब सात किलोमिटर दूरीमा रहेको यो क्षेत्र यातायातका दृष्टिले सहज पहुँचयोग्य छ । पहाडी भूगोलमा फैलिएकाले यहाँबाट उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यहाँको शीतल मौसम र शान्त वातावरणले पर्यटकलाई सहजै आकर्षित गर्छ । पछिल्लो समय आधुनिक सहरीकरणको प्रभावले टोखाको मौलिक पहिचान संकटमा पर्ने जोखिम बढेकाले यसको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नु आवश्यक देखिएको छ ।
टोखा ऐतिहासिक एवं धार्मिक सम्पदाको भण्डार हो । यहाँको चण्डेश्वरी क्षेत्रलाई सबैभन्दा प्राचीन स्थल र ३३ कोटी देवताको वासस्थान मानिन्छ । यस क्षेत्रमा प्राचीन मठ–मन्दिर, ऐतिहासिक डबली, पोखरी, टोखा क्वाठ र लिच्छविकालीन अभिलेखहरू रहेका छन् । जनविश्वास अनुसार विरुपाक्ष, गौतम बुद्ध, सम्राट अशोक, विक्रमादित्य र शंंकराचार्यजस्ता ऐतिहासिक व्यक्तित्वहरू यस क्षेत्रसँग जोडिएका छन् । तिब्बती राजा स्रङचङ गम्पोले भृकुटीसँग र मन्जुश्रीले बज्रयोगिनीको दर्शन गरेको लोककथन पनि यहाँ प्रचलित छ । व्यापारिक मार्गका रूपमा प्राचीनकालमा टोखा भएर नै काठमाडौंका व्यापारीहरू नुवाकोट र रसुवा हुँदै तिब्बतसम्म पुग्ने गर्दथे ।
यस क्षेत्रको अर्को महत्वपूर्ण आकर्षण सपनतीर्थ हो, जहाँ प्रत्येक वर्षको वैशाख १ गते स्नान गर्ने श्रद्धालुहरूको ठुलो मेला लाग्दछ । राजा प्रताप मल्लले रानीपोखरी निर्माण गर्दा सपनतीर्थको जलसमेत मिसाएको इतिहासले यसको धार्मिक गरिमालाई पुष्टि गर्छ । टोखाको बिस्केट जात्रा भक्तपुरको भन्दा फरक शैलीमा मनाइन्छ, जसमा सातवटा देवीदेवतालाई खटमा राखेर नगर परिक्रमा गराइन्छ । वैशाख २ र ३ गते राति माथिल्लो र तल्लो लाछीमा परम्परागत देवीनाच र बाँदरनाच देखाउने चलन छ ।

मध्यकालमा विकास भएको कोनेलाछी क्षेत्र टोखा सरस्वतीको मुख्य बस्ती हो, जहाँ स्थानीयले साना डबलीहरूमा आफ्ना सांस्कृतिक गतिविधि सञ्चालन गर्छन् । टोखाको संरक्षिका मानिने मसानकाली मन्दिर रहेको भूतखेल क्षेत्रमा वैशाख १ गते पूजा गर्दा १०८ प्रकारका अन्नसहित अनौठो बलिप्रथा चलाइने प्राचीन संस्कार अझै जीवित छ ।
धार्मिक पर्यटनका दृष्टिले यहाँ चण्डिकेश्वर महादेव, दक्षप्रजापतिको यज्ञस्थल र पार्वतीले अग्निजल समाधि लिएको भनिएको स्थान महत्वपूर्ण छन् । तपलाछीमा अंशुवर्माको लिच्छविकालीन अभिलेख, थनेलाछीमा प्रताप मल्लको गरुड स्तम्भ, नेपालकै सबैभन्दा अग्लो भीमसेनको मूर्ति तथा पृथ्वीनारायण शाहले स्थापना गरेको तल्लो गणेशको मूर्तिजस्ता अमूल्य ऐतिहासिक धरोहरहरू यहाँ सुरक्षित छन् ।
प्राकृतिक रूपमा टोखा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा रहेकाले गर्मीयाममा वनविहारका लागि उपयुक्त छ । विशेष गरी साँझको समयमा यहाँबाट देखिने उपत्यकाको दृश्यले सहरको भिडभाडबाट थकित पर्यटकलाई शान्ति र आनन्द प्रदान गर्दछ । परम्परागत नेवारी शैलीका घर, ढुंगेधारा र स्थानीय खानपानका परिकारले पर्यटकलाई मौलिक स्वाद र अनुभव दिन्छन् । यो क्षेत्र अनुसन्धानकर्ता, विद्यार्थी, संस्कृतिविद् र पुरातत्वविद्का लागि अध्ययनको खुला विश्वविद्यालयजस्तै छ ।
नेपालमा भित्रिने पर्यटकहरू मुख्यतः धार्मिक र सांस्कृतिक गन्तव्यमा आकर्षित हुने गरेका छन् । नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको तुलनामा आन्तरिक पर्यटकको संख्या अझ ठुलो छ । टोखा राजधानीको नजिकै रहेर पनि यसको उचित प्रचार–प्रसार र पूर्वाधार विकास हुन नसक्दा सोचेजस्तो पर्यटकीय लाभ लिन सकिएको छैन ।
पर्यटकीय गन्तव्यका रूपमा टोखा पछाडि पर्नुका मुख्य कारणहरूमा सडक, पार्किङ, सार्वजनिक शौचालय र सूचना केन्द्रजस्ता आधारभूत पूर्वाधारको अभाव हुनु हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको प्रवर्धन हुन सकेको छैन भने राज्यको लगानी र व्यवस्थापकीय योजना पनि पर्याप्त छैन । स्थानीय समुदायको सहभागिता, सुविधासम्पन्न होटल तथा होमस्टेको कमीले गर्दा पर्यटकहरू यहाँ लामो समय बस्न पाउँदैनन् ।
टोखालाई दिगो सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्न ‘सांस्कृतिक हेरिटेज वाकिङ रुट’, थिममा आधारित होमस्टे र हरित पर्यटनको अवधारणा अगाडि सार्नुपर्छ । पर्यटनको विकासले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, हस्तकला र कृषिको बजारीकरण गर्ने तथा आर्थिक समृद्धि ल्याउने निश्चित छ । सांस्कृतिक आदान–प्रदान र आपसी सद्भाव बढाउनुका साथै यसले टोखाको प्राचीन सभ्यता र नेवारी जीवनशैलीलाई भावी पुस्ताका लागि जीवन्त राख्न मद्दत पु¥याउनेछ । उचित गुरुयोजना र योजनाबद्ध प्रवद्र्धन गरिएमा टोखा भविष्यमा नेपालकै एक नमुना पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना छ ।